निर्वाचनमा तनहुँका कुन उम्मेदवारले कति गरे खर्च ?

Byकिरण श्रेष्ठ

८ पुष २०७९, शुक्रबार ०६:०८ ८ पुष २०७९, शुक्रबार ०६:०८ ८ पुष २०७९, शुक्रबार ०६:०८

तनहुँ । ​गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नतिजा सार्वजनिक भइसकेको छ ।

प्रतिनिधिसभा तर्फ २५ र प्रदेशसभा तर्फ ३२ गरी कुल ५७ जना उम्मेदवार रहेको तनहुँमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी ६ सांसद निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा तर्फ तनहुँ १ बाट रामचन्द्र पौडेल र क्षेत्र नम्बर २ बाट शंकर भण्डारी निर्वाचित भएका छन । प्रतिनिधिसभा तर्फ दुई वटै क्षेत्रमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

प्रदेशसभा तर्फ तनहुँका ४ निर्वाचित क्षेत्रमध्ये कांग्रेसका २ जना, माओवादी केन्द्रका १ जना र एमालेका १ जना निर्वाचित भए ।

तनहुँ १(१) मा अशोक कुमार श्रेष्ठ, १(२) मा हरि बहादुर चुमान र तनहुँ २ (१) मा श्यामराजा महत, २(२) मा जीतप्रकाश आले निर्वाचित भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका सबै उम्मेदवारलाई खर्च विवरण बुझाउन निर्देशन दिइसकेको छ । उम्मेदवारले मतपरिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेसँगै यसपटक निर्वाचन खर्च बुझाउन उम्मेदवारहरु समयमै पुगेका हुन् ।

तनहुँबाट उम्मेदवार बनेका ५७ मध्ये ५२ जनाले निर्वाचन खर्चको विवरण बुझाइसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले बताए । उनले भने ‘अब ५ जना बाँकी हुनुहुन्छ ।’

निर्वाचन कार्यालयले निर्वाचन क्षेत्रपिच्छे फरक फरक खर्च सीमा निर्धारण गरेको थियो । कार्यालयले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार भई कानुन बमोजिम निर्वाचनका लागि खर्चको सीमा कायम गरेको थियो ।

प्रतिनिधिसभातर्फ आयोगले ३१ लाख रुपैयाँको सीमा तोकेको थियो ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेलले २१ लाख ४६ हजार ६८५ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् । यस्तै, तनहुँ २ का शंकर भण्डारीले २३ लाख ३५ हजार ३ सय रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् ।

प्रतिनिधिसभा तर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा अधिकतम ३१ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा थियो ।

निर्वाचनमा भाग लिने उम्मेदवारले तोकिए बमोजिमको रकम मतदाता नामावली खरिद, गोष्ठी अन्तरक्रिया, प्रचार सामग्री, ढुवानी, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम सवारी साधन, (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालनका विषय क्षेत्रमा खर्च गरेको विवरण बुझाएका छन् ।

गण्डकी प्रदेशसभा तर्फ तनहुँ १ (१) र २(१) मा १७ लाख रुपैयाँ अधिकतम सीमा तोकिएको थियो ।
यस्तै तनहुँ १(२) र २(२) निर्वाचन क्षेत्रका उम्मेदवारले १९ लाख खर्च गर्न पाउने सीमा थियो ।

यसमध्ये तनहुँ १(१)बाट निर्वाचित भएका अशोककुमार श्रेष्ठले १२ लाख ९ हजार ९८३ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् ।

प्रदेशसभा तर्फ तनहुँ १(२)बाट निर्वाचित भएका हरि बहादुर चुमानले ९ लाख १४ हजार ४३३ रुपैयाँ खर्च भएको निर्वाचन कार्यालयलाई जनाएका छन् ।

त्यस्तै तनहुँ २(१) बाट निर्वाचित श्यामराजा महतले ९ लाख ६० हजार २६६ रुपैयाँ र तनहुँ २(२) बाट निर्वाचित जीतप्रकाश आलेले १० लाख १ हजार ५३० रुपैयाँ खर्च भएको विवरण बुझाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *