असार २ गते २०७५

एकवर्षदेखी खाेरभित्रै जीन्दगी!

प्रवेश थापलाई परिवारले थुनेर राख्ने गरेको खोर । तस्बिर: सागर घिमिरे खबरवाटिका

समुन्द्र पाैडेल/टेक्रे (भिमाद)

घर आडैमा चारैतिर बारेको खोर छ । कोठाको एकतर्फ आवातजावतका लागि खुल्ला भागमा एउटा फलेकोले छोपिएको छ । फलेको बाहिरी ३ वटा गजबारले ढोका बन्द छ । झट्ट हेर्दा बाख्राको लागि बनाइने परम्परागत सानो खोर भित्र जताततै दिशापिसाब र फोहोर छरिएको छ । खोरको एक कुनामा एउटा काठको खाँट छ । खाँटमाथी एक युवक निर्वस्त्र छन् । कसैले ‘तिम्रो नाम के हो नी ?’ भनेर सोध्ने वित्तिकै भित्रबाट उत्तर आयो, ‘प्रवेश थापा’ ।
भिमाद नगरपालिका २ टेक्रेका प्रवेश सामान्य मानिसले झै बोलचाल गर्छन् । उमेरले २५ वर्षमा दौडदै गरेका प्रवेश झण्डै एक वर्षदेखी आफ्नो पुख्यौली घर आडैको खोरभित्रै दैनिकी विताउँन बाध्य छन् । गाउँमा निर्वस्त्र हिड्ने र गाउँलेको खेतीपाती उखाल्ने गरेपछि उनलाई गाउँलेकै दबाबमा परिवारले एकवर्षदेखी खोरमा राख्न थालेको हो । ‘पहिला त गाउँमा राम्रै थियो तर गाउँमा निर्वस्त्र हिड्ने गर्न थाल्यो,’ स्थानीय कुमार थापाले भने, ‘गाउँलेको बारीमा लगाएका खेतीबाली उखाल्ने र फाल्ने गरेर समाजले बिरोध गरेपछि परिवारले उनलाई थुनेको हो ।’
कुनै समय उ स्कूल पनि जान्थ्यो । साथीभाईसंग हाँसखेल पनि गथ्यो । साइकल चलाउन भनेपछि हुरुक्कै हुने प्रवेश कसैको साइकल पायो की कुदाई हाल्थ्यो । सबै गाउँलेले माया गर्थे । गाउँलेको मायामा फुर्किएको उ गाउँलेले लगाएको काम पनि खुरुक्क गरिदिन्थ्यो । गाउँलेलाई सघाउँथ्यो । केही वर्ष अघिसम्मको प्रवेशको दैनिकी अहिले बन्द खोरमा पुगेको देख्दा उनका साथी र गाउँले पनि चिन्तित छन् ।
‘सानोमा प्रवेशले मसंगै स्कुल पढेको हो,’ दिलीप थापाले भने, ‘अहिले यो अवस्था देख्दा मलाई पनि दुख लाग्छ ।’ प्रवेशलाई स्याहार सुसार गर्दै आएकी हजुरआमा दुई साताअघि वितेपछि अहिले परिवारले उनको स्याहारका लागि गाउँकै पर्वत थापालाई जिम्मेवारी दिएका छन। प्रवेशकी आमाले दोश्रो विवाह गरेर काठमाण्डौमा बस्दै आएकी छिन भने परिवारका अन्य सदस्य पोखराको रामघाट आसपासमा बस्दै आएका छन्।
‘तिम्लाई उपचार गर्न मन छ नी ?’ भन्दा प्रवेशको मुहारमा खुसीको आभाषसगै मुखबाट ‘हुन्छ’ भन्ने शब्द निस्किन्छ । आसपासका गाउँले पनि प्रवेश स्वस्थ भएर पहिले झै गाउँलेलाई सघाएको दिन देख्न आतुर छन् ।
सामान्य अवस्थाका प्रवेशलाई आमाले काठमाण्डौ लगेर करेन्ट लगाइदिएपछि उसमा मानसिक समस्या देखिएको प्रवेशका बाबु बिष्णु थापाले बताए । परिवारले उपचारका लागि विभिन्न ठाउँमा लगेपनि प्रवेशको मानसिक अवस्थामा सुधार नआएपछि बाध्य भएर खोरमा राख्नु परेको उनले बताए । ‘प्रवेशले बाटोमा नाड्गै बस्ने र गाउँका बारीमा फलेका लसुन, केरा, मकै फाल्ने गर्न थाल्योे,’ उनले भने, ‘उपचारका लागि लामाझाक्रीदेखी अस्पतालसम्म लगियो, तर निको नभएपछि बाध्य भएर थुनेर राख्नु परेको हो ।’