जेठ २५ गते २०७६

हैरान्स क्लवद्धारा खेलाडी सम्मान

दमौली– हैरान्स क्लबबाट खेल जीवन आरम्भ गरेका ३ राष्ट्रिय खेलाडीलाई शनिवार हैरान्स क्लवले दमौलीमा सम्मान गरेको छ । क्लवले शनिवार महिला फुटबल टिमकी शर्मिला थापा र विमला विक तथा हकी खेलकी राष्ट्रिय खेलाडी अञ्जना चन्दलाई सम्मान गरेको हो ।
खेलाडीहरुलाई सम्मान गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले खेलाडी र खेल क्षेत्रको प्रबद्र्धनका लागि व्यास नगरपालिकाले ५० लाखको लागतमा खेलमैदान निर्माण गर्न लागेको बताए । कार्यक्रममा बोल्दै उप प्रमुख मिरा जोशीले खेलमैदानको अभावका कारण खेलाडीहरु खेलकुदमा समस्या झेल्नु परेको भन्दै नगरपालिका खेलमैदानको निर्माणमा जुटिरहेको बताइन ।
कार्यक्रममा शर्मिला थापा र विमला विकलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो भने अञ्जना चन्दको अनुपस्थितीमा उनकी दिदिलाई सम्मान प्रदान गरिएको थियो । क्लवबाट खेलजीवन आरम्भ गरी राष्ट्रिय खेलाडीको पहिचान बनाउन सफल भएका खेलाडीलाई क्लवले उनीहरुको प्रोत्साहनका लागि सम्मान गरेको हैरान्स क्लवका अध्यक्ष रविन पौडेलले जानकारी दिए । उनले भने, ‘खेलाडीहरु राष्ट्रको गहना हुन, त्यसैले उनीहरुलाई सम्मान गरेर संस्थाले कर्तव्य निभाएको हो।’