असार ९ गते २०७६

ट्रम्पले पत्रमा के लेखे किमलाई ? दिए यस्तो जवाफ

प्योङयाङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाली नेता किम जोङ–उनले प्राप्त गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ ।

पत्र प्राप्त गरेपछि उत्तर कोरियाली नेता किम जोङ–उनले पत्र उत्कृष्ट भएको भन्दै आफूले गम्भीर विषयलाई गम्भीर रूपमा नै लिने प्रतिक्रिया दिएका छन् ।

उनले ट्रम्पको पत्र प्राप्त गरेपछि ‘असाधारण साहस’ भन्दै प्रशंसासमेत गरेका छन् । यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले किमलाई सुन्दर पत्र लेखेको बताएका थिए ।

यो पत्र कहिले र कसरी पठाएको हो भन्नेबारे केही बताइएको छैन । गत २७ र २८ फेब्रुअरीमा भियतनामको हनोईमा दुई नेताबीचको शिखर वार्ता निष्कर्षविहीन भएपछि सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो । त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अवरुद्ध छ ।

तर, हालै चिनियाँ राष्ट्रपति सी जिनपिङले प्योङयाङको भ्रमण गरेलगत्तै किमले ट्रम्पको पत्र प्राप्त गरेको समाचार बाहिर आएको हो । चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि परमाणु निःशस्त्रीकरणको विषयमा अवरुद्ध वार्ता पुनः सुरु हुन सक्ने आशा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ट्रम्प र किमबीच भियतनाममा वार्ता विफल भएपछि पुनः सम्बन्धमा सुधार आएको देखिएको छ । अर्को साता ट्रम्पलले दक्षिण कोरियाली नेता मुन जे–इनको निमन्त्रणमा दक्षिण कोरियाको भ्रमण गर्न लागेका छन् । अमेरिकाले उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम सम्पूर्ण रूपमा परित्याग गर्नुपर्ने बताउँदै आएको छ ।

तर, उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्न प्रतिबन्ध हट्नुका साथै कोरियाली प्रायद्वीपमा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताउँदै आएको छ । यही विषयमा सहमति बन्न नसक्दा हनोई वार्ता असफल भएको थियो ।

यसै महिनाको सुरुमा ट्रम्पले किमको नेतृत्वसँग प्रचुर सम्भावना रहेको बताएका थिए । मेमा जापान भ्रमणका बेला ट्रम्पले किम ‘एकदमै चलाख व्यक्ति’ भएको बताउँदै उनले उत्तर कोरियाबाट ‘धेरै राम्रा कुरा निस्कने’ अपेक्षा गरेको बताएका थिए ।