असार ९ गते २०७६

निर्माणाधीन भवन भत्किँदा १८ जनाको मृत्यु

कम्बोडिया । कम्बोडियामा निर्माणाधीन एउटा सात तले भवन भत्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

सो घटनामा अरु केही हराइरहेको अधिकारीहरूले बताएका छन् । भवनको भग्नावशेषमा जीवित व्यक्तिहरू हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ ।

तटीय नगर सिहानुकभिलमा भएको सो घटनामा कम्तीमा २४ जना घाइते भएको बताइएको छ । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

एउटा चिनियाँ कम्पनीले निर्माण गरिरहेको सो भवन निर्माणका क्रममा भत्किँदा ठूलो मानवीय क्षति भएको हो । भवन भत्किएपछि सो भवनका मालिक, निर्माण कम्पनीका प्रमुख र ठेकेदारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सो भवन भएको जमिनका कम्बोडियाली मालिकलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । मृत्यु हुनेमध्ये केही कम्बोडियाली नागरिक भएको पुष्टि भएको छ । उद्धारकार्यमा झन्डै १ हजार जना खटिएका थिए ।

उद्धारकर्मीहरूले स्टिलको संरचना काटेर भग्नावशेष हटाउने प्रयास गरिरहेका छन् । निर्माणमा संलग्न मजदुरहरूले आफूहरू सोही भवनमा बस्ने गरेको समेत बताएका छन् ।

सो स्थानका प्रमुख प्रशासकका अनुसार भवन निर्माण स्थलमा झन्डै ५० जना मजदुर थिए । कम्बोडियामा अहिलेसम्म भएकामध्ये यो सबैभन्दा ठूलो दुर्घटना भएको बताइएको छ ।