असार १२ गते २०७६

आमाले विवाह प्रस्ताव अस्विकार गरेपछि छोरीको अपहरण

आमाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि विरगञ्जका जयराम दासले उनकी छोरी अपहरण गरेका छन् । रुपन्देही तिलोत्तमाकी एक महिलालाई विवाह गर्न प्रस्ताव गरेकोमा महिलाले अस्वीकार गर्दा छोरी अपहरणमा परेको प्रहरीले जनाएको छ । सोमबार अपहरित बालिकालाई प्रहरीले बुधबार उद्धार गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ९ गते साँझ तिलोतमा नगरपालिकाबाट  ६ वर्षकी बालिकालाई विरगञ्ज महानगरपालिका २७ का ३८ वर्षीय जयराम दासले अपहरण गरेका थिए ।

घरमा आमा र छोरी मात्र भएको समयमा दासले बालिकालाई जवरजस्ती लगेको भन्ने सुचना प्राप्त भएपछि प्रहरी बालिका खोजी कार्यमा लागेको थियो । बलिकालाई प्रहरीले बुटवलमा फेला पारेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईको कमाण्डमा खटिएको टोलीले बालिका उद्धार गर्न सफल भएको हो । बुटवल उपमहानगरपालिका ५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

दास बिगत नौ महिनादेखि तिलोत्तमाको रैनी खोलामा पुल बनाउने पेटी ठेगेदारको काम गर्दै आएका थिए । पीडित बालिकाको आमासँग चिनजान भएपछि  दासले विवाह प्रस्ताव राखेकोमा महिलाले नमानेपछि बालिका अपहरण गरिएको प्रहरीले जनाएको छ ।