असार १४ गते २०७६

वडाध्यक्ष कपको उपाधि भ्यालीलाई

वडास्तरीय खेलकुद समिति शुक्लागण्डकी–७ ले आयोजना गरेको वडाध्यक्ष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि भ्याली युवा क्लवले जितेको छ । शनिबार भएको फाइनल खेलमा जनसेवा युवा क्लवलाई पराजित गर्दै भ्यालीले वडाध्यक्ष कपको उपाधि जितेको हो । शुक्लागण्डकी नगरपालिका–७ शेराटार खेलमैदानमा भएको खेलमा भ्यालीको तर्फबाट तीन र जनसेवाको तर्फबाट दुई गोल भएका थियो । प्रतियोगिता विजेता भ्यालीलाई नगद ५० हजार, ट्रफी र प्रमाणपत्र र उपविजेता जनसेवालाई नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । विजेतालाई पुरस्कार प्रदान गर्दै वडा नं ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले खेलले मानिसलाई स्वस्थ राख्न सहयोग पु¥याउने भएकोले खेलकुद आवश्यक रहेकोमा जोड दिनुभयो । वडास्तरीय खेलकुद समितिका संयोजक किसान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ८का अध्यक्ष कृष्णप्रसाद रेग्मी, नगर कार्यपालिका सदस्य विष्णुमाया ढकाल, गीता महत, नगरपालिकाका प्राविधिक जीवन पौडेल लगायतले खेलकुदको महत्वबारे मन्तव्य राख्नुभएको थियो । असार ५ गतेदेखि शुरु भएको प्रतियोगितामा २८ टिमको सहभागिता थियो ।