असार १९ गते २०७६

जुवाखालबाट वडा अध्यक्ष पक्राउ

जुवा खेलिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका–१५ का वडा अध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । 

वडा अध्यक्ष चौधरीसहित अन्य पाँचजनालाई सुनसरीको दुहवी–१२ बाट मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । 

पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, सुनसरी गढी गाउँपालिका ३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उरावँ रहेको प्रहरीले जनाएको छ । पाँचैजना दुहवी–१२ मा रहेको गंगा चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। 

उनीहरूलाई गोप्य सूचनाको आधारमा छापा मारी पक्राउ गरेको फुयाँलले जानकारी दिए । पक्राउ परेकाहरुलाई बुधबार जिल्ला अदालत सुनसरीमा मयद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।