श्रावण १ गते २०७६

रोम बिधान अनुमोदन गर्न माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार निगरानी समुह तनहुँले अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम बिधान) अनुमोदन गर्न माग गरेको छ । रोम विधान पारित गरिएको दिन १७ जुलाईको अवसरमा बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै इन्सेकले दण्डहीनता संस्कृतिको अन्त्य गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदन गर्न माग गरेको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान संसारका विभिन्न १ सय २२ राष्ट्रले अनुमोदन गरिसकेको दक्षिण एशियाका बंगलादेश, अफगानिस्तान, मालदिभ्स लगायत एशियाका कयौं देशहरू पनि रोम विधानको पक्ष राष्ट्र भइसकेको तर नेपाल हालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र नभएको ज्ञापनपत्रमा जनाईएको छ ।
रोम विधान अन्र्तगत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्धअपराध, आमनरसंहार र मानवता विरूद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्नहुने व्यक्तिहरूलाई जवाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्ने ज्ञापनपत्रमा उल्लेख छ । साथै अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाले राष्ट्रिय अदालतको क्षेत्राधिकार कटौती र हस्तक्षेप नहुने र त्यसले दण्डहीनताको अन्त्यका लागि सकारात्मक परिवेश निर्माण गर्न सहयोग पु¥याउने हुँदा राज्यले नेपालको मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि रोम विधानको अनुमोदन गर्नु आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
यस अघि पुर्नस्थापित प्रतिनिधि सभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान ) अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रूपमा संकल्प प्रस्ताव पारित गरेको स्मरण गराउँदै तत्कालिन परराष्ट्रमन्त्री माननीय उपेन्द्र यादवले २०६५ माघ २९ गते रोम विधान तत्काल अनुमोदन गर्नुपर्ने एजेण्डा तत्कालीन सरकारको क्याबिनेटमा प्रस्तुत गर्नुभएको तथ्य उल्लेख गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई र मानवअधिकार निगरानी समुहका संयोजक रामलीला सुवर्णकारले हस्ताक्षर गरेको सो ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान, प्रकट गर्न सरकारको ध्यानाकर्षण गराईएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पण्डितले ज्ञापनपत्र आज नै सम्बन्धित निकायमा पठाउने बताए ।