श्रावण २७ गते २०७६

सुन तोलाको ७० हजार

केही दिनदेखि विभिन्न कारणले बढिरहेको सुनको भाउ रोकिने क्रममा छैन । बजारमा सुन शुक्रबार र शनिबार तोलाको ७० हजार रुपैयाँले कारोबार भयो । बुधबार सुन तोलाको ६९ हजार ५ सय रुपैयाँ थियो । चाँदी पनि तोलामा १० रुपैयाँले बढ्दै ८ सय २५ रुपैयाँ पुगेको छ । 

डेढ महिनाअघि ६२ हजारको हाराहारीमा रहेको सुन त्यसयता बढेको बढ्यै छ । यसबीचमा तोलाको ८ हजार बढिसकेको छ । बितेको १० दिन मात्रै सुन तोलामा ५ हजारले बढिसकेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । बितेको डेढ महिनामा मात्र करिब ८ हजारले सुनको भाउ बढिसकेको छ । साउन लागेपछि भने सुनको भाउले आकाश छोएको हो । 

अन्तर्राष्ट्रिय बजारमा अमेरिका–चीन व्यापार युद्धका कारण लगानीकर्ता सुरक्षित लगानी खोज्दै सुनतर्फ आकर्षित हुनाले भाउ बढेको हो । नेपालमा भने नजिकिदो चाडपर्वका कारण पनि सुनको भाउ वृद्धि भएको हो । तर, भाउ बढेसँगै बजारमा खरिदकर्ताको चहलपहल भने छैन । सबैभन्दा बढी गरगहनाको कारोबार हुने न्युरोड क्षेत्रका पसल सुनसान देखिन्छन् । खरिद गर्नभन्दा बरु आफ्नै गहना बेच्न आउने ग्राहक बढेको सुन व्यवसायीको भनाइ छ ।