असार १२ गते २०७६

तनहुँका ४ युवा एनआरएन अष्ट्रेलियाको उम्मेदवार

आगमी जुलाई ६ मा हुने एनआरएन अष्ट्रेलियाको चुनावी मैदानमा तनहुँका ४ युवाले उम्मेदवारी घोषणा गरेका छन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका सुदीप ढकाल, सन्देश राजभण्डारी, सुर्यभक्त खनाल र क्वीन्सल्याण्डमा बस्दै आएका आविष्कार पाण्डेले एनआरएन अष्ट्रेलियाको विभिन्न सहरबाट उम्मेदवारी घोषणा गरेका छन् । सुदीप, सन्देश र सुर्यभक्तले न्यु साउथ बेष्टमा उम्मेदवारी दिएका हुन भने आविष्कारले क्वीनसल्याण्ड क्षेत्रमा उम्मेदवारी घोषणा गरेका हुन ।
सुदीप ढकालले कोषाध्यक्ष, आविष्कार पाण्डेले युवा संयोजक तथा सन्देश राजभण्डारी र सुर्यभक्त खनालले सदस्य पदमा उम्मेदवारी दिएका हुन् । चुनावी मिति नजिकिदै गएसंगै सबै उम्मेदवार अहिले चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् ।
विभिन्न स्थानमा मतदाताहरुसंग भेटघाट कार्यक्रम मार्फत चुनावी प्रचारप्रसारलाई तिब्रता दिईरहेको कोषाध्यक्षका उम्मेदवार ढकालले बताए । ‘विगत १० वर्षदेखी अष्ट्रेलियामा व्यवसाय र लेखा क्षेत्रमा विशेष दख्खल भएका कारण मैले कोषाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।’ उनले भने, ‘पारदर्शीता र अष्ट्रेलिया सरकारको नीतिसंग केन्द्रीत रहेर काम गर्नेछ ।’
बिजनेश सेल्स कन्सल्टेन्सको रुपमा कार्यरत रहेका ढकाल साउथ बेष्ट नेपलिज कम्युनिटी सिड्नी र तनहुँ समाज अष्ट्रेलियाको उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । सामाजिक क्षेत्रमा काम गर्दै आएकोमा एनआरएनका माध्यमबाट अष्ट्रेलिया र नेपाल बिचको सम्बन्ध जोडन आफूले उम्मेदवारी दिएको उनले बताए ।
एनआरएनएको मुलधारमा युवालाई समेट्ने उद्देश्यले आफूले क्वीनसल्याण्ड राज्यको युवा संयोजकको पदमा उम्मेदवारी दिएको आविष्कार पाण्डेले बताए । ‘एनआरएनको अभियानलाई बलियो बनाउँदै नेपालसंगको सम्बन्ध बिस्तार गर्न उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘युवा र पछिल्लो पुस्तामा भाषा र संस्कृतीलाई समेत जोड्ने योजना छ ।’
सामाजिक कार्य र खेलकुदमा रुची राख्ने पाण्डेले क्वीन्सल्याण्डका नेपाली युवाहरुलाई एकिकृत गरेर सशक्तीकरण निर्वाह गर्नका लागि र खेलकुद मार्फत युवाहरुलाई नेपालमा हुने राष्ट्रिय खेलमा सहभागी गराउने आफ्नो योजनालाई उनले अघि सारेका छन् । क्वीन्स ल्याण्ड क्षेत्रमा मात्र १हजार ४ सय ४० मतदाता रहेका छन् ।
एनआरएनलाई संस्थागत रुपमा अगाडी बढाएर अघि बढ्ने योजनाका साथ चुनावी मैदानमा उत्रिएका छन् । ‘एनआरएन अष्ट्रेलियालाई संस्थागत रुपमा पहिचान दिलाउन मेरो पहल रहनेछन,’ उनले भने, ‘भवन निर्माण देखी सामाजिक उत्तरदायित्व सम्मलाई अभियानमा जुटेका छौ ।’ सिड्नीको मोडलमा आरबि हेयर एण्ड ब्युटी लंच संचालन गर्दै आएका राजभण्डारीले १५ जनालाई रोजगारी समेत दिदै आइरहेका छन् ।
त्यसैगरी तनहुँकै सुर्यभक्त खनाल पनि एनआरएन न्यु साउथ वेष्टमा सदस्य पदमा उम्मेदवार बनेका छन्। एमजी एसोसिएट्सका डाइरेक्टर रहेका खनाल सिड्नीको सामाजिक काममा समेत सक्रिय छन् । ‘युवा वर्गले सामाजिक क्षेत्रमा अग्रता लिनुपर्छ भनेर मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने,‘ अष्ट्रेलियामा बस्ने नेपालीलाई समस्या पर्दा सहयोग गर्न सहज वातावरण निर्माण गर्न पहल गर्नेछ’ ।’ न्यु साउथ वेष्टमा करिब ५ हजार मतदाता रहेका छन् भने अष्ट्रेलियाभरी १२ हजार मतदाता रहेका छन् ।