कार्तिक ६ गते २०७६

दलको चेपुवामा देवघाट टोल विकास

कार्तिक ०६ – राजनैतिक दलले नेतृत्व लिने होडबाजीले देवघाट टोल विकास संस्था समस्यामा परेको छ । देवघाट टोल विकास संस्था, नारायणी टोल विकास संस्था र बसपार्क टोल विकास संस्थालाई समेटेर देवघाट टोल विकास सस्था गठन गर्ने नवौं साधारण सभा आह्वान गरेपनि राजनैतिक स्वार्थका कारण दुई महिना बितिसक्दा पनि अझै पुर्णता पाउन सकेको छैन।
राजनीतिक दलको निकटताको माध्यमबाट नेतृत्व लिने होडबाजी चलेपछि टोल विकास समिति गठनको काम अधुरो भएको स्थानीय बासिन्दा बाबुराम तिवारीले बताए । ‘राजनीतिक स्वार्थका उद्देश्य बोकेर टोल विकास समितिमा नेतृत्व लिने कुरा लज्जास्पद हो,’ उनले भने, ‘समयमा टोल विकास समितिले पूर्णता नपाउँदा सर्वसाधारणले समस्या झेल्नु परेको छ।’
टोल विकास समितिको अध्यक्ष पदमा पुर्व अध्यक्ष रुपेश सिलवाल र नेपाली कांग्रेस निकट मुकुन्दशरण सिग्देल अध्यक्षका आकांक्षी भएपछि टोल विकास समितिले पूर्णता पाउन नसकेको हो। सिग्देल पारिवारिक भ्रमणको क्रममा हाल देश बाहिर रहेकाले केही व्यक्तिको निहीत स्वार्थमा टोल विकास समिति गठनको काम अलपत्र परेको स्थानीयको आरोप छ।
समिति गठनका लागि २०७६ साउन १८ गते सिताराम सस्कृत माध्यमिक विद्यालयमा प्रधानाध्यापक मिलन घिमिरेको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन कमिटी समेत चयन भएको थियो। निर्वाचन समिति गठन भएको साढे २ महिना वितिसक्दा समेत देवघाट टोल विकास समिति अन्यौलतामै अल्झिएको छ ।
टोल विकास समिति बिहीन भएकै कारण देवघाट क्षेत्रको सरसफाई र विकासका काममा समस्या भएको नारायण पुडासैनीले बताए। ‘अहिले देवघाटमा पर्यटकहरु आउने क्रम जारीछ,’ उनले भने, ‘सरसफाई संगै अन्य टोल व्यवस्थापनमा समेत समस्या भएकाले व्यक्तिगत स्वार्थलाई सबैले त्याग्न आवश्यक छ।’ टोल विकास समिति नहुदाँ सामान्य टोलको सिफारिसका लागि समेत स्थानीय बासिन्दा देवघाट क्षेत्र विकास कोषको कार्यालयमा धाउन बाध्य भएका छन् ।
दुई दलको लघुताभास सोच र राजनीतिक अज्ञाताका कारण केही समुहले विकास निर्माणको कामलाई ओझेलमा पारेको अध्यक्षका आकांक्षी सिलवालले बताए ।
यो समाचार खबरवाटिका साप्ताहिक पत्रीका मा पनि पढ्न सक्नुहुनेछ

0Shares