मंसिर १४ गते २०७६

२६८ नियुक्ति, १सय २९ बिस्थापित

शिक्षा सेवा आयोग उर्तिण गरेका २ सय ६८ जनाले नियुक्ति पाएका छन । नयाँ नियुक्तिसंगै तनहुँका १० स्थानीय तहमा अध्ययापन गराउँदै आएका १ सय २९ करार शिक्षक बिस्थापित भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइले जिल्लामा कार्यरत ८० करार शिक्षक र आयोग उत्तिर्ण गरेका १ सय ८८ शिक्षकहरुलाई बिहीबार नियुक्ति पत्र प्रदान गरेको इकाइ प्रमुख रमाकान्त शर्माले जानकारी दिए । देवघाट गाउँपालिकामा २४, आँबुखैरेनी गाउँपालिकामा २६, बन्दिपुर गाउँपालिकामा ६, भानु नगरपालिकामा ५७, व्यास नगरपालिकामा २७, म्याग्दे गाउँपालिकामा १० शिक्षकलाई पदस्थापनाका लागि नियुक्तिपत्र सहित पठाइएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ ।
त्यस्तै शुक्लागण्डकी नगरपालिकामा ३७, भिमाद नगरपालिकामा १८, ऋषिङ गाउँपालिकामा २५ र घिरिङ गाउँपालिकामा ३८ शिक्षकलाई पदस्थापनाका लागि पठाइएको इकाइका शाखा अधिकृत भरत बरालले जानकारी दिए ।
२०७६ जेठ १५ अघि नियुक्ति लिई विद्यालयमा अध्यापन गराउँदै आएका अस्थायी शिक्षक र करार शिक्षकले अहिले पनि निरन्तर अध्यापन गराउने इकाइ प्रमुख शर्माले जानकारी दिए । शिक्षक सेवा आयोग उर्तिण भएका शिक्षक मध्ये तनहुँबाट ४१ महिला तथा ८१ पुरुष र बाहिरी जिल्लाबाट ३९ महिला र १ सय ७ पुरुषलाई पदस्थापन गरेको कार्यालयले जनाएको छ ।
नियुक्ति भएका शिक्षक मध्ये ३ दृष्टिबिहीन र एक शारिरीक अपाङ्गता भएका फरक क्षमताका व्यक्तिहरु समेत छन् । दृष्टिविहिन शिक्षकलाई स्थानीय तहले ब्रेल लिपिमा आधारित कक्षा संचालन गर्ने कार्यालयले जनाएको छ।