तनहुँ । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दी मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । यही वैशाख ३० गते निर्वाचन सफल बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले मदिराजन्य पदार्थ बिक्री वितरणमा बन्देज लगाएको हो ।

सोमबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सुचना जारी गर्दै निर्वाचनको अन्तिम परिणाम नआउँदा सम्म मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा बन्देज लगाउने जनाएको छ ।

निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउने उद्देश्यसहित मौन अवधिको समयमा जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

साथै बैठकले वैशाख २५ गतेदेखि जेठ ५ गतेसम्म राति ९:३० बजेसम्म मात्र होटल तथा रेष्टुराँ सञ्चालन गर्न पाउने निर्णय गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनको प्रचारप्रसारको क्रममा उनीहरुले गर्ने सभा तथा ¥यालीलगायतका कार्यक्रमको बारेमा स्थानीय प्रशासनलाई जानकारी गराएर तथा त्यस्ता कार्यक्रम गर्दा एउटै बाटो र स्थान प्रयोग नगर्ने निर्णय भएको छ।

प्रतिनिधिले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । निर्वाचन विरोधी क्रियाकलाप भइरहेको भेटिए यसको जानकारी प्रहरीलाई दिने निर्णय भएको छ ।

स्थानीय एफएम, रेडियो र पत्रपत्रिकाले निर्वाचन आचारसंहिताको पालना गरी सूचना सम्प्रेषण गर्ने तथा निर्वाचन विरोधी सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण नगर्ने बैठकमा निर्णय भएको छ । सामाजिक सञ्जालमार्फत कोही कसैप्रति लक्षित गरी गालीगलौज तथा भ्रामक सूचना र निर्वाचन विरोधी सन्देश प्रवाह नगर्ने तथा नगराउने सहमति भएको प्रशासनले जनाएको छ ।

निर्वाचन अवधिभर जिल्लाका लागि आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सलगायतका सङ्घ संस्थाले आवश्यक व्यवस्था मिलाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *