चैत्र ८ गते २०७६

मन भुलाउन सारंगीकाे धुन

समुन्द्र पाैडेल/दमाैली

गलामा डोरी भिरेपछि सारंङ्गी कम्मरसम्म पुग्छ, देब्रे हातले सारंङ्गी समात्दै दाहिने हातले धनुष (झिनार) झिकेर रेटेपछि -याई -याईको आवाज गुञ्जन्छ । उमेरले झण्डै ६ दशक पुग्न लागेका बुद्धि राम गन्धर्व आजकाल फुर्सदको समय पुख्यौली सांरङ्गीसंग विताउने गर्छन् ।

मनको लहरबाट सांरङ्गी बजाउन सिकेका लमजुङ्ग सुन्दरबजारका बुद्धिराम फुर्सदमा दमौली, पोखरा, काठमाण्डौ, सुन्दरबजार आसपासका क्षेत्रमा सांरङ्गी बजाउँछन् । ‘पुर्खाले अंगाल्दै आएको पेशालाई माया मार्न नसकिदो रहेछ’ उनले भने, ‘मेला महोत्सव र फुर्सदको समयमा बजार डुलेर सारंङ्गी बजाउने गर्छु।’

परिवारको गुजाराका लागि खेतीपाती र कृषि पेशा अंगाल्ने गरेका बुद्धिबहादुर रमाइलो र पुख्यौली कलासंस्कृतीको जर्गेनाका लागि बुढ्यौलीमा पनि तन्नेरी झै कम्मर कसेर सहर बजार डुल्ने गरेका छन् ।

‘सारंगी बजाएर परिवारको गुजारा चलाउन सकिदैन’ उनले भने, ‘फुर्सदको दिन यसो बजार डुल्दा खाजा खाने पैसा जुट्छ, पुख्यौली सम्पतीको पनि जर्गेना हुन्छ ।’ उमेरमा हलो जोत्ने, खेतमा काम गर्ने गरेका बुद्धिबहादुर आफ्ना बुबाले अंगालेको पेशालाई १३÷१४ वर्षदेखी अंगाल्दै आएका छन् । कामका बेला खेतबारीमा भेटिने गरेका उनी फुर्सदका दिनमा सांरङ्गीको धुनसंग मन भुलाउने बजारका घरदैलो निस्कन्छन् ।

‘छोराले ट्याक्टर चलाएर परिवारको गुजारा चलाउछ, मैले फुर्सदमा सारंङ्गी बजाउँछु,’ उनले भने, ‘बुढ्यौली लाग्न थाल्यो सारंङ्गी बजाएर रमाइलो गर्दै दिन विताउन परेको छ ।’ गन्धर्व जातीको परम्परागत पेशाले परिवारको गुजारा चलाउन नसक्ने अबस्था भए पछि पछिल्लो पुस्ताको सांरङ्गी पेशाप्रति आकर्षण घटेको छ ।

गन्धर्व अर्थात गाइने जाति नेपालकै अति कम जनसंख्या भएको लोपोन्मुख जातिमा पर्छ । यो जातिको मुख्य वाहुल्य कास्की जिल्लाको बाटुलेचौर भएता पनि तनहुँ, लमजुङ्ग, गोर्खा, चितवन, वाग्लुङ्ग, पाल्पा, दैलेख, सुर्खेत, भोजपुर, दाङ तथा जाजरकोट गरी नेपालको झण्डै ६९ जिल्लामा गन्धर्व जातिको बसोबास रहेको पाइन्छ ।

28Shares