चैत्र १६ गते २०७६

लकडाउनमा अपनाउनु पर्ने ७ सन्दर्भ, जसले बनाउँछ स्वस्थ

कोरोना भाइरसको संक्रमण फैलिन नदिन र रोकथाम एवं नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले एक हप्ताका लागि सम्पूर्ण देशभरि लकडाउन गरेको छ। सरकारले अत्यावश्यक सेवाबाहेक अन्य प्रयोजनको लागि घर बाहिर निस्कन र हिँडडूल गर्न प्रतिबन्ध लगाएको छ। यस्तो अवस्थामा घरभित्रै रहनु र लकडाउनलाई प्रभावकारी बनाउनु हामि सबै नागरिकको दायित्त्व हो।

तल उल्लेखित कुराहरुलाइ अवलम्बन गर्न सके लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना संक्रमणलाई हराउन मद्धत पुग्नेछ।

१. अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कौं
लकडाउनको उद्देश्य सम्भावित संक्रमणलाई संक्रमितसम्म मात्रै सिमित राखी उनीहरुको पहिचान, अलगाव (आइसोलेसन ) र उपचार गरि संक्रमण अरुमा फैलन नदिनु हो।

लकडाउनमा बस्दा एकातिर सम्भावित संक्रमितसंगको सम्पर्क तोडिन्छ भने अर्कोतिर सम्भावित संक्रमितबाट दुषित बनेका श्रोतसाधन(हावा,सार्वजनिक स्थल र संरचना) हरुमा रहेका भाइरस निर्मुल समेत हुन्छन्।

त्यसैले, घरबाहिर ननिस्कि नहुने, अत्यावश्यक र आकस्मिक अवस्थाहरुमा बाहेक सकेसम्म घर बाहिर ननिस्किउँ। निस्किने परे उचित सुरक्षा र सावधानी अवलम्बन गरौ।ख्याल राख्नुहोस्, जबसम्म तपाईंले बाहिर गइ कोरोना भाइरसलाइ तपाइको घर भित्र्याउनु हुन्न, तवसम्म कोरोना संक्रमण तपाईंको घरभित्र प्रवेश गर्दैन।

२.खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरुको प्रयोगमा मितव्ययिता अपनाउँ
सरकारले सर्वसाधारणको लागि खाद्यान्न लगायतका अत्यावश्यकीय सेवा र सामाग्रीहरुको यथेष्ठ प्रवन्ध रहेको र यस्ता सेवाहरु सुचारु रहने बताएको छ। यस्तो विषम परिस्थितिमा अत्यावश्यकीय सेवा र सामाग्रीहरुको समुचित र मितव्ययि प्रयोग गर्नु भविष्यमा आइपर्न सक्ने थप विषम परिस्थितिका लागि समेत पूर्वतयारी गर्नु हो।

३. छरछिमेक, आफन्त र साथीभाईविच जमघट, भेटघाट र भोजभतेर नगरौं
यो समय, सबै आ-आफ्नो घरमा रहेर संक्रमणको साङ्ग्लोलाई तोड्ने बेलामा हो। यो समयलाई सामान्य बिदा वा बन्द जस्तो रुपमा लिएर परिवार,आफन्त, छरछिमेक र साथीभाईबिच जमघट, भेटघाट, खानपान र भोजभतेर गर्ने गम्भिर गल्ति नगरौ। परिवार वा छरछिमेकमा बाहिरबाट कोहि आएको छ भने विशेष सतर्कता र दुरी कायम गरौ ।भौतिक भेटघाटको सट्टा फोन, भाइबर, म्यासेन्जर जस्ता माध्यम प्रयोग गरि हालखबर र सूचना प्रवाहित गरौ। सूचना प्रविधिको प्रयोग गर्दा सम्भावित अत्यावश्यकित सूचना प्रवाहमा असर पर्ने गरि फोन र इन्टरनेटको अत्याधिक प्रयोग नगरौ।

४. घरभित्रै रही स्वास्थ्यवर्द्धक क्रियाकलापहरुलाई निरन्तरता दिउँ
लकडाउनका कारण घरमा रहँदा शारिरिक क्रियाकलापमा कमि, खानपान, आहारविहारमा परिवर्तन जस्ता कारणले स्वास्थ्यमा प्रतिकूल असरहरु समेत देखिन सक्छन्। त्यसैले, घरभित्रै रही नियमित व्यायाम, योगा, हिँडडुल लगायतका शारीरिक क्रियाकलापहरुलाई निरन्तरता दिउँ। त्यस बाहेक सन्तुलित भोजन, नियमित सरसफाई जस्ता स्वास्थ्यवर्धक क्रियाकलापलाई उच्च प्राथमिकतामा राखौ।
त्यस्तै, घरमा रहेका वृद्धवृद्धा र बालबालिकाहरुको हेरचाहमा विशेष ध्यान पुर्यातउने गरौं।

५.भ्रमपूर्ण अफवाह मात्र होइन, नकारात्मक समाचारको साङ्ग्लो पनि तोडौं
यस्तो विषम र उच्च सतर्कताको समयमा सूचनाको विशेष महत्त्व रहने गर्दछ।भ्रमपूर्ण सूचना र अफवाहहरुले समाज र हरेकको मानसिक स्वास्थ्यमा अत्यन्त नकारात्मक प्रभाव पार्न सक्दछन्, जस्तो कारण परिस्थिति कावु बाहिर समेत जान सक्दछ।

लकडाउनमा रहँदा सबै जना घरमा फुर्सदमा रहने हुदाँ सामाजिक सञ्जाल र सूचना प्रविधिको अधिकतम प्रयोग हुने देखिन्छ। त्यसैले फोन, युट्युब,फेसबुक, ट्वीटर,म्यासेन्जर जस्ता सामाजिक संजाल र संचार माध्यमबाट फैलिने भ्रमपूर्ण सूचना र अफवाहलाई जथाभावी शेयर र फ़र्वाड गर्दा रोगको संक्रमण जस्तै गलत सुचनाको संक्रमण फैलने गर्दछ।

जसको सामाजिक र मानसिक प्रभाव पनि रोग जत्तिकै भयावह हुन सक्छ। त्यस्तै, सही तथ्य रहेका कतिपय नकारात्मक समाचारहरुले पनि समाज र व्यक्तिको मनोवल गिराउन सक्छन्। त्यसैले, भ्रमपूर्ण सूचना र अफवाहका साथ साथै समाजको मनोवल गिराउने र परिस्थितिलाई थप प्रतिकुल बनाउने प्रकृतिका नकारात्मक समाचारहरुको साङ्ग्लोलाई समेत तोड्न जरुरी छ। जसरि अहिले घर बसेर कोरोना संक्रमणको चेन तोड्न सकिन्छ त्यसैरी नै भ्रम पूर्ण अफवाह र नकारात्मक समाचारलाई शेयर फ़र्वाड नगरी वेवास्ता गर्ने र सकारात्मक र सचेतनामुलक समाचारमात्र प्रवाहित गरि यस्तो नकारात्मकताको साङ्ग्लोलाई तोड्न सकिन्छ।

६.सकारात्मक सोच र सचेतनामूलक सूचनाको संवाहक बनौं
लकडाउनमा रहँदा मानिसहरु विभिन्न मानसिकता र उतारचढावबाट गुज्रिन सक्दछन्।त्यसैले सकारात्मकता र आध्यात्मिक एवं मानसिक शान्ति फैलाउने खालका सोच र संदेशहरु प्रवाहित गरौ। त्यस्तै गायन, लेखन, अभिनय जस्ता कलार क्षमता भएका व्यक्तिहरुले कोरोना संक्रमण रोकथाम सम्बन्धि तथ्यपरक एवं सकारात्मक प्रस्तुति तयार पारी सामाजिक सञ्जालहरुमार्फत सचेतना संवाहित गरौं।

७. फुर्सदको समयको घरभित्रै रही सदुपयोग गरौं
लकडाउनलाई फलदायी र सहज बनाउने सबैभन्दा प्रभावकारी उपाय भनेको आफू र आफ्नो परिवारलाई घरभित्रै व्यस्त राख्नु हो। त्यसका लागि घरभित्रै रहेर गर्न सकिने सिर्जनशील क्रियाकलाप, जिवनउपयोगी सीपको आदानप्रादान, अनलाइन प्रविधिको प्रयोग गरी दैनिक कार्यसम्पादन र लेखन तथा अध्ययनलाई अपनाउन सकिन्छ। वालबच्चालाई खाना पकाउने, विभिन्न परिकार बनाउने जस्ता विभिन्न घरायसी र आफले जानेका ज्ञानशिप सिकाउन सकिन्छ। त्यस्तै इन्टरनेट र अनलाइन प्रविधिको प्रयोग गरि विभिन्न ज्ञानसिप र अनुभव पनि आर्जन गर्न सकिन्छ।

परिस्थितिले तपाईहामीलाई घरमै बसिदिएर देशका लागि महत्त्वपूर्ण योगदान गर्ने अवसर दिएको छ। यस अवसरको सदुपयोग गरि असल नागरिकको परिचय दिउँ। आउनुहोस्, कोरोना संक्रमणको रोकथाक र नियन्त्रणको यस महाअभियानमा एकवद्ध बनौं! सबैले आ-आफ्नो घरमा रहेर यस लकडाउनलाई प्रभावकारी र सफल बनाउँ!

(स्वास्थ्य खबर डटकमबाट साभार यो लेखका लेखक क्षत्री मेडिकल रेडियो-इमेजिङ्ग टेक्नोलोजिष्ट हुन्। उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्)

38Shares