December 9, 2022

जुम्ला । चन्दननाथ नगरपालिका वडा नम्बर–२ जुम्लाका युवा विराज भण्डारीले पातमा बनाएको ‘स्केज’ अर्थात् लिफ आर्टले अहिले सामाजिक सञ्जालमा राम्रो चर्चा कमाइरहेको छ । विराजले बनाएका लिफ आर्टको अहिले फेसबुकमा मात्र नभएर इन्स्टाग्राम, टिकटक र ट्वीटरमा समेत लोकप्रियता बढ्दै गएको देखिन्छ । विगतमा पेन्सिलले स्केचहरू बनाउने विराज अहिले पातमा विभिन्न आकृति सिर्जना गर्न थालेका छन् ।

यो कला निर्माणबारे बिराजले भने, ‘पहिला पेन्सिल स्केचहरू बनाउँथे । एकदिन एउटा बुद्धको लिफ आर्ट बनाएको भिडियो हेरें, कसरी बनाउँछन् जस्तो लागेको थियो । मैले घरमा पहिलोपटक पातमा नेपालको नक्सा बनाएँ । बुबाआमा चकित पर्नुभयो । मलाई थप हौसला मिल्यो र यसलाई निरन्तरता दिएँ ।’

अहिले यो आर्टबारे धेरैबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । थप अरू कला सिर्जना गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सुझाव दिएको पनि उनले राजधानीलाई बताए । विराजले केही दिन अघि मात्रै जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायत केही जनप्रतिनिधिको स्केच बनाएर प्रदान गरेको सम्झदै भने, ‘मैले प्रजिअलगायत केही जनप्रतिनिधिको स्केच बनाएपछि मप्रति सबैले सद्भाव देखाएका छन्,’ सबैले यसलाई निरन्तरता दिन हौस्याइरहेको उनले बताए ।

हालसम्म पीपल, ओखर र अंगुरको पातमा स्केचहरू बनाएका विराज सबैभन्दा पीपलको पातमा सहज हुने अनुभव सुनाउँछन् । जुम्ला घर भएका उनी हाल झापास्थित गौरादह कृषि क्याम्पसमा अध्ययन गर्छन् । अहिले लकडाउनले गर्दा आफ्नै घर जुम्लामा छन्, ‘घरमा बस्दा लिफ आर्ट बनाउने प्रयास गरें, ठीकै भयो । अहिले उत्साहित छु र विगतमा बिहान अबेरसम्म सुत्ने मान्छे अहिले बिहान सबेरै उठेर लिफ आर्टमै व्यस्त छु,’ उनले भने ।

लिफ आर्ट हेर्दा धेरै आर्कषक देखिए पनि यसलाई बनाउन र यसलाई सुरक्षित राख्न गाह्रो हुने उनले बताए । उनले अहिलेसम्म विभिन्न जनावर, चराचुरुंगी, नक्सा, चर्चित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी, कलाकार, राजनितिज्ञलगायतको स्केच बनाइसकेका छन् । आफ्नो गाउँघरमा लिफ आर्टलाई अनौठो रूपमा लिने गरेकोले परिवारले धेरै सहयोग गरेको उनले बताए ।

‘अहिले विराजको दक्षता बढ्दै गएको छ, उनलाई पातमा कुनै पनि चिजको आकृति बनाउन पेन्सिल र ब्लेड भए पुग्छ । पहिले पेन्सिलले कोरेर त्यसपछि त्यसलाई ब्लेडले काटेर दुरुस्तै आकृति बनाइदिन्छन्,’ उनका बुबा भीमबहादुर भण्डारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *