May 22, 2022
समुन्द्र पाैडेल

खैरेनी माध्यमिक विद्यालयका शिक्षक राजेश्वर घिमिरे हप्ताका ४ दिन गाउँ गाउँ चहार्छन । उनीसंगै मुखमा मास्क, हातमा पन्जा लगाएर विद्यालयका अन्य ४–५ शिक्षक पनि संगै हुन्छन् । गाउँमा जम्मा भएका विद्यार्थीलाई उनीहरुले प्रश्न उत्तर गर्छन । विद्यार्थीले सोधेका प्रश्नको नेपाली, अंग्रेजी, गणित लगायतका विषयकै शिक्षकले सहजीकरण गर्छन। विद्यार्थी र अभिभावकलाई कोरोनाका बारेमा समेत सचेतना दिन्छन ।
राजेश्वर घिमिरेले झै खैरेनीटार माध्यमिक विद्यालयका शिक्षक शिक्षिका ६ समुह बनाएर विद्यार्थीलाई पढाउन गाउँ गाउँ जाने गरेका छन । सबै समुहमा ५ देखी ६ जना शिक्षक सहभागी रहने र उक्त समुहले बिहान–बेलुकाको समयमा गाउँमा नै पुगेर विद्यार्थीको अध्ययनमा सघाउने गरेको छ । ‘विद्यार्थीहरुलाई फाराम भराएर नै उनीहरुको बर्गिकरणको आधारमा सिकाई सहजीकरण गर्ने गरेका छौ,’ शिक्षक घिमिरेले भने, ‘ इन्टरनेट भएको, इन्टरनेट नभएको तर मोबाइल÷ल्यापटप भएको, टेलिभिजन मात्र भएको, रेडियो मात्र भएको र केही पनि नभएको आधारमा बर्गिकरण गरेका छौ।’
विद्यार्थीको अबस्था अनुसार अनलाइन कक्षा, अफलाइन सामाग्री, स्वअध्ययन समाग्री, प्रश्नपत्रको मोडल लगायतका माध्यमबाट विद्यार्थीलाई सिकाईने घिमिरेले बताए । उनले भने, ‘विद्यार्थीले नबुझेका, नजानेका कुरा ४ देखी ७ दिनको बिचमा पुन गाउँमा पुग्दा शिक्षकलाई प्रश्न गर्छन ।’ २०६९ सालदेखी शिक्षण पेशामा आबद्ध घिमिरे सिकाई सहजीकरणले विद्यार्थीलाई स्व–अध्ययनमा सक्रिय बनाएको अनुभव गर्छन । ‘विद्यार्थीहरु थप रचनात्मक र प्रविधी मैत्री भएका छन ।’ उनले भने,‘अनलाइन कक्षाको समयमा छोरा–छोरीको गतिविधी अभिभावकले पनि नियाल्ने हुदाँ केही अभिभावक पनि प्रविधीसंग सचेत हुने गरेका छन्।’
१६ वर्षीय प्रमिस ढकाल आजकाल बिहान साडे ५ बजे उठ्छन । मुख धोएर, चिया नास्ता गरेर नित्यकर्म सक्दाँ ६ः४५ हुन्छ । अनि मोबाइल लिएर अनलाइन कक्षाका लागि तयार हुन्छन । मोबाइलको झुम एपमा विद्यालयका प्रधानाध्यापकको आईडीसंग जोडिएपछि ७ बजेदेखी उनको अनलाइन कक्षा शुरु हुन्छ । १/१ घण्टाका दरले दैनिक २ घण्टा २ विषयको पढाई हुन्छ । अनलाइन कक्षा सकिएपछि उनी गृहकार्य र घरधन्दामा जुट्छन । ‘अनलाइन कक्षामा पढ्दा विद्यालयमा पढेजस्तो त हुँदैन,’ खैरेनी माध्यमिक विद्यालयमा कक्षा १०मा अध्ययनरत उनले भने, ‘तर पनि यो समयमा फुर्सदिलो भएर बस्नु भन्दा अनलाइन कक्षा प्रभावकारी भएको छ ।’
विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीलाई २०७६ चैत्र १९ गतेदेखी नै बिहान ७ देखी ९ बजेसम्म अनलाइन कक्षा संचालन गरेको विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरेले बताए। ‘जुम एपको प्रयोगबाट विद्यार्थीसंग नियमित अध्यापनमा जुटिरहेका छौ,’ उनले भने, ‘अरु विद्यालयको भन्दा नौलो अभ्यास गरेका छौ ।’ अनलाइन कक्षामा ८४ जना विद्यार्थीमा ७२ देखी ७८ जनासम्म सहभागि हुने गरेको विद्यालयले जनाएको छ । गत शैक्षिक सत्र २०७६/०७७ मा १ हजार ३७ विद्यार्थी भर्ना भएकोमा अन्तिम परिक्षामा ९ सय ७६ विद्यार्थी सहभागि भएका थिए । ‘अहिले पुराना विद्यार्थी र नयाँ विद्यार्थीलाई गाउँमै गएर सिकाई सहजीकरण गरेका हौ ।’ उनले भने, ‘नयाँ पाठ्यपुस्तक नलिएका विद्यार्थीको अभिलेखको आधारमा सहजीकरणका लागि जाने शिक्षक समुहले नै विद्यार्थीको पुस्तक गाउँमा पु¥याई दिने गरेका छन्।’ शिक्षक समुह हप्ताको २ दिन विद्यार्थीको घरमा पुग्छन भने अन्य ४ दिन शिक्षकहरु सिकाई कक्षा, अनलाइन कक्षा, पहिलो त्रैमासिक परिक्षाको प्रश्न तयारी लगायतका कार्यमा जुट्ने गर्छन।
त्यसैगरी घिरिङ गाउँपालिकाका विद्यालयहरुले पनि सिकाई सहजीकरणका माध्यमबाट अध्ययापनको कार्य अघि बढेको छ । हटिया स्थित सरस्वती माध्यमिक विद्यालयमा कोरोनाका कारण क्वारेन्टीन कक्ष स्थापना भएपछि माध्यमिक तहका विद्यार्थीहरुलाई पायक पर्ने नजिकका प्राथमिक विद्यालय र अन्य विद्यालयका विद्यार्थीलाई सोही विद्यालयमा कक्षा संचालन शुरु गरिएको स्थानीय होम बहादुर थापाले जानकारी दिए ।
घिरिङका श्री थानि वन प्राथमिक विद्यालय अर्चलकोट, श्री थानि प्राथमिक विद्यालय नेवापानि, श्री राजपुर प्राथमिक विद्यालय कोट साभुङ, श्री जय नेपाल प्राथमिक विद्यालय पुर्काेट र मानपुर स्थित सुशील कुमार श्रेष्ठको फार्ममा सामुहिक कक्षा मार्फत सिकाई कक्षा संचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published.