नाटकः बजार अनुगमन

                           लेखक : माधब पौडेल, दमाैली

जब भयो राति तब बुढि ताती” भनेझै जब जब चाडपर्व आउछन् स्थानीय पदाधिकारी, सरकारी कर्मचारी यसरी जाग्नुहुन्छ कि व्यापारीले उहाँलाई फोन गरेर भनेका छन् “हामी उपभोक्ता ठगिरहेका छौ, तपाईहरु बजार अनुगमनको लागि आउनुस्!”, त्यसपछि नेपालभर एउटा नाटक मन्चन हुनेछ “अनुगमन ।” नाटकमा जनप्रतिनिधि वा उच्च पदका कर्मचारी सुरक्षाकर्मी, पत्रकार, केहि थान कर्मचारी सहित नाटक मन्चन गर्न बजारका खाद्यपसल, किनारा पसल, जेरीपुरी पसल, फेन्सि पसल, तरकारी पसलतिर निस्कनु हुनेछ ।

प्रसगं नं. १
केहिबर्ष अगाडिको कुरा हो पोखराको एक कार्यालयका कर्मचारी विदाको समयमा पोखराकै एउटा प्रतिष्ठित व्यापारीको मलमा परिवार सहित आफ्नो लागि हाफ्पाईन्ट किन्न छिर्नु भएछ। पसलमा बस्ने साहुले १७ सय भनेछन्, वहाँले १ हजार रुपिया दिदा हाफ् पाईन्ट दिएनछन् । भोलिपल्ट उक्त पसलमा छापा मार्दा  पसलले २२ लाख तिर्नुपर्ने हिसाव किताब निस्केछ । यस स्तम्भकारसगको भेटमा उहाँले भन्नुहुन्थ्यो “ए त्यो पसलेले …… कार्यालयको ….. पदको मलाई नचिन्ने? हाम्लाई नचिन्ने? मैले छापा मारेर म को हुँ चिनाईदिए (हाँहाँहाँलामो हाँसों)।”
प्रसगं नं. २
केहि साता अगाडि तनहुँको दमौलीमा मिनरल वाटरको बोतलमा धुलो र फोहोर भेटियो । त्यो समाचारले सबैको ध्यान खिच्यो। विभिन्न पत्रपत्रिका तथा अनलाईनले उक्त समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरे । अर्कोतर्फ उक्त समाचार लुकाउनको लागि मान्छेहरु कतिसम्म लागे भने पत्रकारलाई आफुलाई नेपाली राजनीतिको वरिष्ठ ठान्ने मानिसले पनि पत्रकारलाई फोन गर्न बाध्य भए। पत्रकारलाई फोन गरेर “ल न बाबु वहाँ त हाम्रो मान्छे तिमीले राखेको त्यो समाचार हटाईदिनुप¥यो।” अर्का एकजना महानुभावले पनि पत्रकारलाई समाचार रोक्नको लागि फोन नगरिकन बस्नसक्नु नै भएन। “अब त ठोक्ने हो समाचार” भनेर बस्ने पत्रकार महाशयका समाचार एक फोन कलले रोकियो स्वयं मिनरल वाटर कम्पनिका मालिक त पलपल सामाजिक संजालमा उक्त समाचारको कमेन्ट के आयो? कतिले लाईक गरे? कुन–कुन व्यक्तिले के कमेन्ट गरे भनेरै हेर्दा हेर्दै धेरै दिन बित्यो ।
प्रसगं नं. ३
आर्युवेदिक अस्पतालमा कार्यरत एकजना हाकिमसाबले तनहँुका मुख्यमुख्य आर्युवेदिक पसलहरुमा आफ्नो शेयर माग गरे दिनेसग मित्रवत् व्यवहार र नदिनेलाई अनावश्यक दुःख दिन पसलमा छापा मार्दै हायल कायल र बदनाम बनाउने प्रयास गरिरहेकोे व्यवसायीको गुनासो छ । साथै, उनले सरकारी नीति नियमलाई चुना लगाउदै आफु जहाँ–जहाँ सरुवा हुने गरेका छन् त्यहाँ क्लिनिक संचालन गरिरहेको पनि आर्युवेदिक औषधी व्यवसायीको भनाई छ।

यी त प्रतिनिधि घटनामात्र हुन् सबै आ–आफ्नो स्वार्थअनुसार चलेको कहिकतैबाट छिपेको छैन। चाहे जुनसुकै व्यापारी हुन् वा कर्मचारी वा त राजनीतिक दलका प्रतिनिधिहरु हुन् । सबै बलेको आगो ताप्न खोज्छन्, सबैले सोच्छन् “सबसे बडा रुपैया।” ठगिएका, लुटिएका आम उपभोक्ताको पक्षमा बोल्ने मानिस खोज्छ टुकि नै बाल्नु पर्ने अवस्था छ ।
दाल – चामलमा ढुङ्गा भेटिनु, मसला, बेसारमा काठका भुलो भेटिनु, सडेगलेका तरकारी भेटिनु, सडे गलेका मिति गुज्रिएका खाद्यबस्तु, औषधी बजारमा भेटिनु, कपडाका ब्राण्डहरुको लोगो परिवर्तन गरेर मुल्य बढाउनु, सामान किन्दा भ्याट बिल नपाउनु त सामान्य कुरा भएका छन् । म्याँद गुज्रिएका सामानहरु बेच्नु सामान्य मानिन्छ भने तिनै वस्तुहरुको मुल्यपनि पसलै पिच्छे फरक – फरक हुनुलाई स्वाभिमानी नेपालीले कुनै अन्यथा सोच्नु नै पर्दैन। आम उपभोक्ता पाईला पाईलामा ठगिएका छन्। व्यापारीहरुले मनपरि मुल्य असुल गर्नु त सामान्य कुरा भईसकेको छ। पसलमा मुल्य सुची अनिवार्य राख्नुपर्दछ भन्ने निर्देशन त एकादेशको कथा भएको छ भने सामान खरिद गर्दा भ्याट विल माग्ने उपभोक्ता त हाँसोको पात्र बनाईन्छ भने कथंकदाचित भ्याट विल पाईयो भने सपना जस्तो लाग्दछ।
अहिलेको बिषम् परिस्थितिमा मनपर्दी मुल्य असुल्नु तठग्न उद्यत रहने व्यापारीको कर्तव्य नै भएको छ, ईमान्दार नैतिकवान व्यापारी प्रशस्त छन् तर छिटो कमाएर छिट्टै धनिहुन खोज्ने सिमित व्यापारीको कारणले सिङ्गो बजार बदनाम बनाउने दुस्प्रयास गरिएको छ। सरकारी तवरबाट पनि कुनै कुराको मुल्य निर्धारण गरिएको छैनन। कृषि उत्पादनको मुल्य एउटै छ न त विदेशबाट आयात गरिएको सामानकोे मुल्य एउटै छ । बजारमा पाईने कुनै पनि कुराको मुल्य वैज्ञानिक तवरबाट तय गरिएको नै छैन सबैले आआफ्नो मुल्य राखेका छन्।
यो माहामारीको समयमा आर्थिक भारबाट संसारमा कोहि पनि अछुतो रहेका छैनन्। कोरोना भाइरस, लकडाउनको कारणले उद्योग कलकारखाना, व्यापार व्यवसाय दैनिक जनजीवन सबै प्रभावित बनेका छन् । अपवाद बाहेक व्यापारी, उपभोक्ता सबैलाई आर्थिक भारले नराम्ररी थिचेको छ । यस्तो परिस्थितिमा सबै मिलेर बाचौ भन्नुपर्नेमा कालोबजारी मौलाउन दिईएको छ । उपभोक्ता र व्यापारी एकअर्काको परिपुरक हुन् भन्ने सोचे पो सम्बन्ध दिगो बन्छ भन्ने कुराको कहिकतै गुन्जायस छैन। सरकारको शुन्यउपस्थितिको झल्कोले गर्दा सबै जना यहि हो मौका भन्ने अवस्थाले गर्दा बजारमा मनपरितन्त्र चलेको छ । उपभोक्ता “खाउभने दिनभरिको शिकार नखाँउभने कान्छा बाबुको अनुहार” को अवस्थामा पुगेका छन् । न केन्द्रिय सरकार न प्रदेश सरकार न स्थानिय सरकार न त बिशेष कर्तव्य भएको उद्योग बाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग केहि गर्छ। चुपचाप उपभोक्ता ठगिएको हेरि रहन्छ । हुन त महामारीको समयमा सरकार नै संलग्न भएको स्वँस्थ्य सामाग्रीहरु खरिद प्रकरणमा पनि भ्रष्टाचार भएका आवाजहरु सुनिएका छन् । यस्तोमा आम उपभोक्ता ठगिनु कुनै नौलो कुरा मानिएको छैन तै पनि आजकल बजारमा नैतिकता, मुल्य मान्यता र हरि हराएको छ । यस्तोमा व्यापार व्यवसायीको लागि हितमा खुलेको विभिन्न संघसंस्थाहरु जाग्नु पर्नेछ उपभोक्तालाई मनपर्दीसंग ठग्ने केहि व्यापारीहरुले गर्दा सबै व्यापारीलाई बदनाम गर्ने प्रयासलाई तोड्नु जरुरी रहेको छ । एउटा फेन्सि पसलले उपभोक्ता ठग्दा सबै पसले किन डामिने? जस्ले बेईमानी गर्छ त्यसलाई सम्बन्धित संघसंस्थाले किन कारवाही नगर्ने? कारवाहीको एउटा प्रयासले पनि अरुलाई नसिहत त हुन सक्थ्यो र कालोबजारी गर्नेहरुको मनोवल गिर्न सक्थ्यो उपभोक्ताले त्यस्तो दिनपनि देख्न पाएका छैनन् ।
नेपालमा एउटा उखान छ “जब भयो राति तब बुढि ताती” भनेझै जब जब चाडपर्वहरु आउँछन् स्थानीयका पदाधिकारी, सरकारी कर्मचारी यसरी जाग्नुहुन्छ कि व्यापारीहरुले वहाँहरुलाई फोन गरेर भनेका छन् “हामी उपभोक्ताहरु ठगिरहेका छौ तपाईहरु बजार अनुगमनको लागि आउनुस्”, त्यसपछि नेपाल भर एउटा नाटक मन्चन हुनेछ “अनुगमन” नाटकमा जनप्रतिनिधि वा उच्च पदका कर्मचारीहरु सुरक्षाकर्मी, पत्रकार, केहि थान कर्मचारी सहित नाटक मन्चन गर्न बजारका खाद्यपसल, किनारा पसल, जेरीपुरी पसल, फेन्सि पसल, तरकारी पसलतिर निस्कनु हुनेछ। पसलेलाई “सब ठिक छ नि?” भनेर प्रश्न गर्नुहुनेछ पसलेले यसो ङिच्चदाँत देखाएर “ठिक छ हजुर, हजुरको कृपाले” भन्नेछ उहाँहरुले “उ त्यो के हो देखाउनुस् त” भन्दै कसैले सेल्फि खिच्नुहुनेछ भने कसैले क्यामरातिर सोझिएर फोटो खिच्नुहुनेछ, पसलेलाई “कुहिएका मालहरु नबेच्नुस् र महङ्गोमा नबेच्नुस् है” भन्नुहुनेछ छ। पसले मनमनै, “ठग्नसक्नु मेरो कला हो सकेसम्म ठग्छु नि!” भन्ने सोच्दै “हुन्छ हजुर” भन्नेछ एवंरितले उहाँहरु कयौ पसलहरु चहार्नुहुनेछ , बजार अनुगमन अभुतपूर्वरुपमा सम्पन्न भएको खबर पत्रपत्रिका, रेडियो, टेलिभिजनमा आउनेछ व्यापारी मुसुमुसु हाँस्दै म्याद गुज्रिएकोे सामान बेच्नेछ । थाहा छैन उपभोक्ता ठगिए की ठगिएनन् तर अनुगमनमा जानेहरु कतै पनि ठगिनु हुनेछैन किनकी अनुगमनमा जाँदाको भत्ताको बिटोले चाडपर्व रमाईलो गरि मनाउनु हुनेछ। यसरी अनुगमन नामक नाटकको मन्चन प्रत्येक बर्ष चाडपर्वको समय नेपालभर अभुतपूर्व रुपमा सम्पन्न हुनेछ। उपभोक्तालाई खासै राहत नदिने यो चाडपर्वको बेलामा गरिने भत्ता पचाउने अभियानलाई बन्द गरे हुदैन र? गर्नु नै छ भने बेला बेलामा उपभोक्ताहरु कत्तिको ठगिएका छन्? बजारमा कालोबजारी कत्तिको मौलाएको छ? कुन कुन चिजमा कुन कुन पसलमा कालोवजारी भईरहेको छ, म्याद गुज्रेका सडे गलेका चिजहरु कत्तिको बजारमा बिक्रीभईरहेका छन्? त्यो पो बुझ्ने किन आफ्ना आसेपासेलाई पूर्व सुचना दिएर तामझामका साथ गरिने चाडपर्व केन्द्रित अनुगमन नामक नाटक त ठगिई रहेका उपभोक्तालाई एकछिन हसाँउने बाटो र कसै कसैलाई अनुगमनको नाममा कमाउ धन्दामात्र हुन्छ कि?

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button