December 1, 2022

बन्दीपुर-बन्दीपुर भन्ने बित्तिकै आँखामा नेवारी बस्ती झल्कन्छ । कलात्मक घर । दुङ्गाले छापेको बाटो । टुडिखेलबाट देखिने मनोरम हिमालको दृष्य ।
अनि त्यही रमाइ रहेका बिदेशी तथा स्वदेशी पर्यटक। कोरोना संक्रमणका कारण ९ महिना सुनसान बनेको बन्दीपुर पछिल्लो समय चहलपहल बढ्न थालेको छ । बन्दीपुर बजारमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो ।
आन्तरिक पर्यटक आउने क्रम बढेसंगै बन्दीपुरका होटल तथा रेष्टुरेण्टहरु पनि संचालनमा आएको बन्दिपुर पर्यटन विकास समितिका सचिव बसन्त पौडेलले बताए । ‘लामो समयसम्म बन्दीपुरमा होटलहरु पूर्ण रुपमा नै बन्द भएका थिए,’ उनले भने, ‘आन्तरिक पर्यटक आउन थालेपछि बन्दीपुर बजारका होटल तथा रेष्टुरेण्टहरु संचालनमा आउन थालेका छन ।’
बिदेशी पर्यटकको भिडभाड हुने बन्दीपुर बजार अहिले स्वदेशी पर्यटकले भरिन थालेको छ । ‘अहिले बन्दीपुर स्वदेशी पर्यटकमा रमाउँदैछ,’ बन्दीपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष बैश गुरुङले भने, ‘कोरोनाका कारण सुनसान बनेको बन्दीपुर अहिले स्वदेशी पर्यटकको आगमनसंगै चहलपहल बढेको छ ।’ स्वदेशी पर्यटक आउन थालेपछि बन्दीपुरमा संचालनमा रहेका अधिकांश होटल तथा अन्य व्यवसायीले राहत महसुस गर्न थालेका छन ।
कोरोनाका कारण झण्डै एक महिना निर्माण कार्य रोकिएको बन्दीपुर केबुलकार प्रा.लिको निर्माण कार्य पनि तिब्र रुपमा भईरहेको बन्दीपुर केबुलकार प्रा.लि का पुर्व सिइओ कार्यकारी प्रमुख किरण पोखरेलले जानकारी दिनुभयो । ‘कोरोनाका कारण केही समय निर्माणको काम रोकिएको थियो,’ उनले भने, ‘अहिले कामलाई तिब्ररुपमा अघि बढाईरहेका छौ ।’ बन्दीपुर केबुलकार, होटल सहितको योजनाका साथ निर्माण हुँदै गरेको बन्दीपुर केबुलकार आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भईसकेको पोखरेलले जानकारी दिए।
‘केबुलकारको तल्लो स्टेशनको अधिकांश काम सम्पन्न भईसकेको छ, अब डिजाइनिङको काम बाँकी छ,’ उनले भने, ‘माथिल्लो स्टेशन र होटलको कामलाई पनि तिब्रता दिइरहेका छौ ।’ केबुलकार र होटललाई दुईचरणमा बिभाजन गरेर कामलाई तिब्रता दिइरहेकोमा आगमी असोज भित्रमा केबुलकार संचालन हुने पोखरेलले बताए । उनले भने, ‘असोज भित्र केबुलकारको काम सम्पन्न गरेर होटलको कामलाई निरन्तरता दिने तयारीमा छौ ।’
गण्डकी प्रदेशकै प्रवेशद्धार रहेको बन्दीपुरमा निर्माण हुन लागेको आयोजना प्रदेशकै ड्रिम प्रोजेक्ट भएकोले यसले बन्दीपुरको दीर्घकालिन पर्यटन विकासमा सहयोग पुग्ने बन्दीपुर केबुलकार प्रा.लि.ले जनाएको छ । ‘ एक हजार क्षमताको सभाहल सहितको चार तारे होटल संचालन हुन्छ’ पूर्व सिइओ पोखरेलले भने, ‘बन्जीजम्प, स्काई साइकिलिङ जस्ता सहासिक खेलकुद संगै सुइमिङपुल, भ्युटावर पनि संचालन हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *