
बन्दीपुर – प्रहरी चौकीको भवन निर्माणका लागि जग्गादान गरेका एक दम्पतीलाई शुक्रबार तनहुँ प्रहरीले सम्मान गरेको छ। इलाका प्रहरी कार्यालय डुम्रेका लागि जग्गा उपलब्ध गराएका धु्रवलाल श्रेष्ठ पियाको दम्पतीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले २० वर्षपछि सम्मान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले आयोजना गरेको नागरिक सुनवाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य र तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले दोसल्ला र प्रमाणपत्र सहित जग्गादाता ध्रुवलाल श्रेष्ठ पिया र बिष्णुदेवी श्रेष्ठ पियालाई सम्मान गरेको हो ।
प्रहरीलाई जग्गा उपलब्ध गराएको लामो समय पछि पनि प्रहरीले सम्झेर सम्मान गरेकोमा श्रेष्ठ दम्पतीले जिल्ला प्रहरी कार्यालय तनहुँलाई धन्यवाद व्यक्त गरे। ‘हामीले प्रहरीलाई जग्गा सहयोग गरेको कुरा झण्डै झण्डै बिर्सिसकेका थियौ,’ सम्मान ग्रहण गर्दै धुव्रलाल श्रेष्ठले भने, ‘सम्मान पाउँदा खुसी लागेको छ।’
समाजमा सकारात्मक काम गर्ने व्यक्तिलाई सम्मान गर्नुपर्छ भन्ने मान्यताका साथ प्रहरीले जग्गादान गर्ने दातालाई दोसल्ला ओढाएर सम्मान गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरिक्षक अरुण पौडेलले बताए ।