
तनहुँ- शुक्लागण्डकी नगरपालिकाको आयोजनामा संचालन भएकाे गण्डकी प्रदेश स्तरीय खुला अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले जितेको छ । आईतबार भएकाे फाइनल खेलमा शुक्लागण्डकी नगरपालिका ‘ए’ लाई ३–१ को सेटमा पराजित गर्दै गल्कोट नगरपालिकाले उपाधि जितेकाे हो ।
शुक्लागण्डकी ८ स्थित गाउँफर्कोदय माध्यमिक बिद्यालयकाे खेल मैदानमा भएको फाइनल खेलमा गल्काेटले उपाधी संगै नगल १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेकाे छ । प्रतियोगितामा उपबिजेता बनेकाे शुक्लागण्डकी ए ले एक लाख रूपैयामा चित्ता बुझाउनु परयो । त्यसैगरी प्रतियोगितामा तृतीय र सान्त्वना पुरस्कारका लागि भएकाे खेलमा मादी गाउँपालिकाले घिरिङ गाउँपालिका माथी विजय हासिल गरेकाे छ।
तृतीय स्थान हासिल गरेकाे मादी गाउँपालिकाले नगद ५० हजार र सान्तवना भएकाे घिरिङ गाउँपालिकाले नगद २५ हजार रूपैया प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घाेषित भएका गल्कोटका विमल परियारले १० हजार रुपैयाँ पाए । प्रतियोगितामा बेष्ट स्पाईकर मादी गाउँपालिकाका सफल विक, बेष्ट सेटर गल्कोट नगरपालिकाका मिन सुनार, बेष्ट ब्लकर शुक्लागण्डकी ‘ए’ का मिनबहादुर कुमाल, बेष्ट डिफेन्डर गल्कोटका रिजन राना र उदयमान खेलाडी शुक्लागण्डकी ‘ए’ का प्रदिप गुरुङ घोषित भए । उनीहरुले जनही पाँच/पाँच हजार रुपैयाँ प्राप्त गरेकाे शुक्लागण्डकी नगरपालिकाले जनाएकाे छ।
विजेता खेलाडीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, शुक्लागण्डकीका मेयर किसान गुरुङ, उपमेयर सविता रसाईली लगायतले पुरस्कार प्रदान गरे । शुक्रबारदेखी सुरु भएकाे पालिका स्तरीय पुरूष भलिबल प्रतियोगितामा तनहुँसंगै कास्की, स्याङजा, नवलपुर र बाग्लुङका १३ समुहले सहभागिता जनाएका थिए ।
