विदेशबाट फर्केका ७८२ जनाले पाए ऋण, यसरी लिन सकिन्छ सहुलियत कर्जा

Byखवरबाटिका

३० जेष्ठ २०७८, आईतवार २२:२६ ३० जेष्ठ २०७८, आईतवार २२:२६ ३० जेष्ठ २०७८, आईतवार २२:२६

काठमाण्डौ – आफ्नो देशको माया सबैलाई लाग्छ । स्वदेशमै रहेर व्यवसाय गर्ने रहर सबैको हुन्छ । तर कहिलेकाहीँ आफूसँग केही गर्ने योजना भएर पनि रकम अभावमा काम अगाडि बढ्न पाउँदैन । यस्तै समस्यालाई सम्बोधन गर्दै विदेशबाट फर्केका युवाहरुलाई लक्षित गरी नेपाल सरकारले सहुलियत कर्जाका लागि ब्याज अनुदान दिँदै आएको छ ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार व्यवसाय गर्न चाहने युवाहरुलाई विभिन्न शीर्षकमा सहुलियत कर्जा प्रदान गर्दै आएको हो । तीमध्ये ‘वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजना कर्जा’ पनि एक हो ।

विदेशमा सिकेको सीप, अनुभव तथा केही गर्छुँ भन्ने सोचका साथ व्यवसाय गर्न चाहने युवाहरुलाई लक्षित गरी वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजना कर्जा ल्याएको हो । यस अन्तर्गत दश लाख रुपैयाँसम्मको ऋण प्रदान गरिन्छ । ऋणीले सरकारको तर्फबाट पाँच प्रतिशतसम्मको ब्याज अनुदान प्राप्त गर्छन् । जसअन्तर्गत बैंक तथा वित्तीय संस्थाको ब्याजदरबाट पाँच प्रतिशत घटाउँदा जति आउँछ त्यति मात्रै ब्याज तिर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाले पनि आफ्नो आधारदरमा दुई प्रतिशतभन्दा बढी थप्न नपाउने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको तथ्याँकअनुसार यो व्यवस्था लागू भएदेखि २०७८ को जेठ महिनासम्म ७ सय ८२ जनाले यस कर्जाको लाभ उठाएका छन् । अहिलेसम्म ६५ करोड २५ लाख रुपैयाँ कर्जा स्वीकृत भएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताउनुभयो । यो कर्जाको लागि कतिले आवेदन दिए भन्ने कुरा थाहा नभए पनि मापदण्ड पूरा भएका सबैले कर्जा प्राप्त गर्न सक्ने ढकाल बताउनुहुन्छ ।

‘कर्जा चाहियो भनेर निवेदन त धेरैले दिए होलान् तर ज-जसको मापदण्ड पुगेको छ र कागजातका आधारमा बैंकले पत्याएको छ उसैले मात्र कर्जा पाउने हो’, ढकाल भन्नुहुन्छ, ‘सबै कुरा मिलेको छ भने ढुक्क हुनुस्, कर्जा पाउनुहुन्छ ।’

के छ व्यवस्था ?

नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गको मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाबाट यो ऋण सुविधा लिन सकिन्छ । कार्यविधि अनुसार लक्षित ऋणीलाई ब्याज अनुदान प्राप्त हुने गरी बैंक तथा वित्तीय संस्थाले विभिन्न दश शीर्षकमा कर्जा प्रवाह गर्छन् । त्यसैमध्येको एक ‘वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजना कर्जा’ हो ।

कार्यविधिमा व्यवस्था भएअनुसार श्रम स्वीकृति प्राप्त गरि वा नगरि कुनै पनि देशमा कम्तीमा ६ महिना काम गरि नेपाल फर्केकाहरुलाई यो कर्जा दिइन्छ । उनीहरुले व्यक्तिगत या सामूहिक रुपमा यो कर्जाको लागि बैंकमा आवेदन दिन पाउँछन् ।

यो व्यवस्था लागू भएकोबेला कर्जाको लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था थियो । तर यसको पछिल्लो संसोधनले बैंकमै गएर निवेदन दिने व्यवस्था ल्याएको हो । कर्जा लिनको लागि उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव पेश गर्नुपर्ने हुन्छ । यसरी माग गरिएको कर्जामा सम्बन्धित व्यक्तिले उल्लेख गरेको कर्जाको उद्येश्य, जोखिम, माग रकम लगायत परियोजनाको सम्भाव्यता हेरेर तथा कर्जाको सदुपयोग हुने आधारमा बैंक तथा वित्तीय संस्थाले ऋण प्रदान गर्नुपर्ने व्यवस्था छ । कुनै कारणबस कर्जा प्रवाह गर्न सक्ने अवस्था नभएमा स्पष्ट आधार र कारणसहित सम्बन्धित निवेदकलाई लिखित जानकारी दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

यसरी प्राप्त गर्ने ऋणको लागि ब्याज अनुदान अवधि बढीमा पाँच वर्ष तोकिएको छ । तर व्यवसायको प्रकृति हेरेर बैंक तथा वित्तीय संस्थाले त्यही अनुसार ब्याज अनुदानको अवधि तोक्न सक्ने कार्यविधिमा उल्लेख छ । त्यो अवधिभित्र ऋण तिरिसक्नुपर्ने हुन्छ । यस्तै व्यवसायको प्रकृति तथा प्रतिफलको अवधिको आधारमा किस्ता भुक्तानी अवधि निर्धारण गर्न सक्ने व्यवस्था पनि छ ।

कार्यविधिका अनुसार बैंकहरुले आफ्नो कारोबारको निश्चित प्रतिशत वा निश्चित संख्यामा यस्तो ग्राहक पुर्याउने लक्ष नेपाल राष्ट्र बैंकले तोकेर त्यसको अनुगमन गर्नुपर्ने हुन्छ ।

आवश्यक कागजात

यस कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गर्ने कर्जा लिनको लागि राहदानी (पासपाेर्ट), प्रवेशाज्ञा (भिसा) तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्छ । यस्तै श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि । विदेशमा कम्तीमा ६ महिना काम गरेको भन्ने देखाउने कुनै प्रमाण पनि आवश्यक पर्छ । यस्तै आफू कुनै पनि देशको स्थायी बसोबासको स्वीकृति प्राप्त व्यक्ति नभएको स्व घोषणा गर्नुपर्छ ।

यसको अतिरिक्त सम्बन्धित बैंक तथा वित्तीय संस्थाको विधिवत् रुपमा भरिएको कर्जा आवेदन फारम, प्रचलित कानुन बमोजिम दर्ता भएको व्यवसाय तथा स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुन्छ । यस्तै आफू कर्जा सूचना केन्द्रको कालो सूचीमा नपरेको स्वघोषणा गर्नुपर्छ ।

याे समाग्री उज्यालो अनलाइनबाट साभार गरिएको हाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *