अलबिदा जनगायक टुहुरे !

Byखवरबाटिका

११ भाद्र २०७८, शुक्रबार ०९:२७ ११ भाद्र २०७८, शुक्रबार ०९:२७ ११ भाद्र २०७८, शुक्रबार ०९:२७

‘आमा दिदी बैनी हो, कति बस्छौं दासी भै
सुखको सधैं प्यासी बनेर…’
यो कालजयी गीतका स्रष्टा प्रगतिशील, जनवादी तथा क्रान्तिकारी गायक जेबी टुहुरे अब हामीमाझ रहेनन् । आफ्नै गीत संगीतबाट देशमा परिवर्तन ल्याउने कार्यमा जीवन बिताएका उनी भौतिक रूपमा यो संसारबाट विलीन भएका छन् ।

टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार मध्यान्न १२ः३० बजे निधन भएको छ । विगत १० दिनदेखि उपचाररत उनको मस्तिष्कघातका कारण काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो ।

गत १ भदौमा उच्च रक्तचापका कारण मतिष्कघात भएर कलंकीस्थित निवासमा लडेपछि उनलाई परिवारले बयोधा अस्पतालमा भर्ना गरेको थियो । उनी उच्च रक्तचापसहित मधुमेह र फोक्सोसम्बन्धी समस्याबाट पनि पीडित थिए । मस्तिष्कको नसामा रक्तसञ्चार अवरोध भएर पनि अन्य रोगका कारण उनको अप्रेसन गर्न गाह्रो भएपछि औषधिमार्फत बयोधाको आईसीयूमा उपचार भइरहेको थियो । उपचारकै क्रममा बिहीबार उनको निधन भएको हो ।

दिवंगत जनगायक टुहुरेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहीबार दिउँसो काठमाडौंको पेरिस डाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालयको प्रांगणमा राखिएको थियो । सो क्रममा माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले टुहुरेको पार्थिव शरीरलाई नेकपा माओवादी केन्द्रको झन्डा ओढाएर पार्टीका तर्फबाट श्रद्धाञ्जली अर्पण गरे । यस्तै, नेकपा माओवादीका नेताहरू वर्षमान पुन र कृष्णबहादुर महराले पनि पेरिसडाँडा पुगेर उनको पार्थिव शरीरमा श्रद्धासुमन अर्पण गरे ।

सो क्रममा पेरिसडाँडा पुगेर माओवादी नेता, कार्यकर्तासहित विभिन्न गायक, गायिका, संगीतकर्मी तथा शुभचिन्तकले उनको पार्थिव शरीरमा फूलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरे ।

दिवंगत गायक टुहुरेको बिहीबार बेलुका पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न गरियो । दाहसंस्कार अघि उनको पार्थिव शरीरमा नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल र खेम नेपालीले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेकपा एमाले समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि आर्यघाट पुगेर जनवादी गायक टुहुरेप्रति श्रद्धाञ्जली अर्पण गरे । यस्तै, आर्यघाट पुगेर एमाले नेताहरू प्रदीप ज्ञवाली, विजय सुब्बा, खगेन्द्र राईलगायतले पनि दिवंगत टुहुरेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनका श्रीमती सत्यदेवी, एक छोरा र चार जना छोरी रहेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस  आज यी प्रदेशमा धेरै भारी वर्षा हुने, सतर्क रहन आह्वान

जनवादी गायक टुहुरे २००१ साल १५ कात्तिकमा सुनसरीको धरानमा जन्मिएका थिए । उनको न्वारनको नाम जुटबहादुर खड्गी राखिएको थियो । पछि गायनमा उत्रिएपछि सोही नामलाई उनले जेबी टुहुरे बनाएका थिए ।

टुहुरेले २०१८ सालबाट गायन यात्रा सुरु गरेका थिए । उनले सुरुका दिनमा आधुनिक तथा लोक गीतहरू गाउँदै गायन यात्रा सुरु गरेका थिए । सोही क्रममा टुहुरेले रेडियो नेपालमा २०२४ सालमा आफ्नो स्वरमा गीत रेकर्ड गराएका थिए । त्यतिबेला टुहुरेका करिब एक दर्जन मायाप्रेमका गीत रेडियो नेपालमा रेकर्ड भएका थिए ।

२०१८ सालमा नेपालमा पञ्चायती व्यवस्थाको उदयसँगै दलमाथि प्रतिबन्ध लगाइएपछि विभिन्न पार्टीका नेताहरूले भूमिगत रूपमै पञ्चायतविरुद्ध संघर्ष अघि बढाए । यो व्यवस्था टुहुरेलाई मन परेको थिएन । मायाप्रेमको गीत गाउँदै आएका टुहुरेलाई पञ्चायती दमनले मन दुख्यो । अनि उनी पनि तत्कालीन व्यवस्थाको विद्रोही बनेर जनचेतनामूलक गीत गाउँदै जनवादी गायनमा उत्रिए । जसका कारण उनी अन्य नेताहरूसँग विभिन्न कार्यक्रममा जनवादी गायकका रूपमा प्रस्तुत हुन थाले ।

उनको जोसिला गीत आमजनताले रुचाउन थालेपछि टुहुरेलाई खुला रूपमा हिँड्न गाह्रो भयो । जनवादी गायनमा लागेपछि उनले २०२५ सालमा पूर्व कोसी प्रान्तीय कमिटीमार्फत कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यसपछि रेडियो नेपालमा उनका गीत रकेर्ड गर्न पनि बन्देज गरियो ।

गीत गाउँदै जाने क्रममा उनलाई ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर’ गीतले झनै लोकप्रिय बनायो । त्यतिबेला नारी जागरणका लागि यो गीत निकै शक्तिशाली रूपमा आएको थियो । उनले श्रोताको माग बढेपछि २०३४ सालमा यो गीत रेकर्ड गरेका थिए ।

२०४६ सालमा मुलुकमा बहुदलीय प्रजातन्त्र आएपछि उनले खुलेर गीत रेकर्ड गर्ने अवसर पाएका हुन् । पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार रहेका थिए । टुहुरे गायन यात्राकै क्रममा २०५२ देखि २०५९ सालसम्म राष्ट्रिय जनसांस्कृतिक मञ्चको अध्यक्षसमेत भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *