June 25, 2022

समुन्द्र पाैडेल / दमाैली

सामुदायिक विद्यालयको स्तर खस्किँदै गईरहेको अबस्थामा तनहुँका सय भन्दा बढि शिक्षकले शिक्षा ऐन विपरित नेपाली कांग्रेसको विभिन्न जिम्मेवारी सम्हालेका छन। नेपाली कांग्रेसको १४ औ वडा अधिवेशनबाट शिक्षकहरुले पदाधिकारी सहित क्षेत्रीय प्रतिनिधी बनेका हुन।
व्यास नगरपालिका १० बाट श्रीकृष्ण आचार्यले सचिवको जिम्मेवारी लिएका छन। उनी चण्डीदेवी माध्यमिक विद्यालयका शिक्षक हुन। चण्डीदेवी माध्यमिक विद्यालयमै अध्यापन गराउने गोकुल थापा, शान्ता बास्तोला पनि क्षेत्रीय प्रतिनिधीमा चुनिएका छन ।
त्यसैगरी व्यास–१ स्थित जलदेवी माध्यमिक विद्यालयका शिक्षक सुलोचना पण्डित, ज्ञानेन्द्र जीसि, गिरीमाया मिश्र, मोहन गिरी बालमन्दीर माध्यमिक विद्यालयका शिक्षक पदम खनाल, शंकर परियार पनि क्षेत्रीय प्रतिनिधीमा चुनिएका छन । मत्स्यकन्या आधारभुत विद्यालयकी शिक्षिका चन्द्रावती हड्डखले, जनजुक्त शाही माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपाने, महर्षी बेदव्यास माध्यमिक विद्यालयका शिक्षक नरेन्द्र न्यौपाने,  पराशर आधारभूत विद्यालयका शिक्षक रामदत्त पौडेल पनि क्षेत्रीय प्रतिनिधीमा रहेका छन ।
चन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर रानाभाट पनि व्यास ३ वाट क्षेत्रीय प्रतिनिधीमा चयन भएका छन। महेन्द्र  ज्याेति माध्यमिक बिद्यालय शिशाघाटका शिक्षक  रामसिंह दुरा पनि क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन । बन्दीपुर गाउँपालिका विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरु बुद्ध श्रेष्ठ, उत्तम गुरुङ, सुनि गुरुङ लगायत क्षेत्रीय प्रतिनिधीको जिम्मेवारीमा आएका छन। त्यसैगरी देवघाट गाउँपालिकाका शिक्षक कृष्ण खनाल, म्याग्दे गाउँपालिकाका नारायण पोख्रेल पनि चयन भएका छन।
शिक्षकले जाँगिर वा राजनीति मध्ये एक कुरालाई अंगाल्नुपर्ने रामशाह माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामिछानेले बताए । ‘शिक्षक भनेको समाजको शिक्षित व्यक्ति हो, उसमा राजनीति चेत हुनु स्वभाविक नै हो,’ उनले भने, ‘ऐनले नदिएको राजनीतिक जिम्मेवारी अंगालेपछि शिक्षण पेशा छाड्नु उपयुक्त हुन्छ।’
शिक्षकले जाँगिर वा राजनीति मध्ये कुन पेशालाई प्राथमिकता दिन भनेर बिचार गर्न आवश्यक छ। ‘विद्यालयमा पढाउदाँ पढाउँदै बैठकमा जानु पर्ला, दलको चुनावमा जानु पर्ला’ उनले भने, ‘शिक्षकले राजनीति गर्दा पक्कै पनि विद्यालयको पठनपाठनलाई समस्या बनाउँछ ।’
सरकारी शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय हुदाँ युवापुस्ताहरु सधै ओझेलमा पर्ने गरेको एक युवाले गुनासो गरे। ‘विद्यालयमा पढाउने शिक्षक चुनाव हुने भनेपछि आफै अघि सर्छन,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘ शिक्षक र कर्मचारीले ठाउँ ओगट्दा युवा वर्ग सधै पछि परे।’ तनहुँ जिल्लाका १० वटै तहमा सय भन्दा बढि शिक्षकहरुले जिम्मेवारी लिएको स्रोतले जनाएको छ।नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेलले शिक्षा नियमावलीले कार्यकारी पदमा नबस्न निर्देशन गरे अनुरुप आफूले सामाजिक संजालमा नै स्टाटस पोष्ट गरेर शिक्षकहरुलाई सचेत गराएको समेत बताए ।
शिक्षकहरुलाई राजनीतिमा सक्रिय गराएको भन्दै नेपाली कांग्रेसका केही कार्यकर्ताले वडाको निर्वाचन समितिमा उजुरी समेत दिएका छन ।
नेपाली कांग्रेसका सचिव विश्व बास्तोलाले नेपालको राजनीति र विभिन्न चरणको आन्दोलनमा शिक्षकहरुको भूमिका रहेको भन्दै शिक्षकले राजनैतिक दलको जिम्मेवारी सम्हाल्ने राष्ट्रिय बहसको कुरा भएको बताए । ‘यो विषय सबै राजनैतिक दलमा छ ।’ उनले भने, ‘क्षेत्रीय प्रतिनिधीको हकमा यो कुरा बोलेको छैन।’ उनले शिक्षकले शिक्षण पेशालाई पहिलो प्राथमिक दिन आवश्यक रहेको बताए ।
कर्मचारी पनि क्षेत्रीय प्रतिनिधी
त्यसैगरी व्यास नगरपालिका बरिष्ठ अधिकृत मेघनाथ आचार्य पनि नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधीमा चयन भएका छन । व्यास नगरपालिका वडा नं. १० बाट क्षेत्रीय प्रतिनिधीमा चयन भएका हुन ।

Leave a Reply

Your email address will not be published.

Holler Box