May 17, 2022

भानु – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानवअधिकार समुह भानु नगरपालिकाको संयोजनमा मंगलबार भानु नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धमा स्थानीय सरकार र सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
मानवअधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धी परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा बोल्दै भानु नगरपालिकाका बरिष्ठ अधिकृत शुनिल पाण्डेले शिक्षा, स्वास्थ्य, खाद्य र आवास नगरपालिकाको प्राथमिकतामा रहेको बताउनु भयो । पाण्डेले संविधानले मौलिकहकको रुपमा व्यवस्था गरेको यी विषयहरुलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको बताउनु भयो ।
पाण्डेले आधारभुत विद्यालयमा दिवा खाजा, आधारभुत देखी माथिल्लो तहका सबै विद्यालयमा सेनेटरी प्याडको उपलब्धता, आधारभुत विद्यालयमा स्मार्ट टिभीको व्यवस्था, कृषकलाई आधुनिक कृषि औजारको व्यवस्था गरिएको तथा दुध र अन्डामा नगरपालिका आत्मनिर्भर भएको बताउनु भयो । मौलिक हकहरु उपभोग गर्न पाउनु नागरिकको नैसर्गीक र संविधानप्रदत्त अधिकार भएको भन्दै पाण्डेले नगरपालिकाले पनि नागरिकका यी मौलिक हकलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरु बनाएको बताउनु भयो । इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराएको हुँदा वार्षिक नीति तथा कार्यक्रम र योजनामा ति विषयहरु सम्बोनधन गरिएको पाण्डेले बताउनु भयो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा सन्चालन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाका बरिष्ठ अधिकृत पाण्डेले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम र योजनाहरुलाई प्राथमिकतामा राखी सम्पन्न गर्ने र नीतिहरु बनाउँदा पनि त्यसैलाई नै प्राथमिकतामा राख्ने गरेको बताउनु भयो ।
सो कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराई, कृषि शाखा प्रमुख प्रताप पाण्डे, शिक्षा शाखाका श्रोत व्यक्ति श्रीकृष्ण त्रिपाठी, पशु शाखाका प्राविधिक धनबहादुर कुमालले सहभागीको जिज्ञासाको उत्तर दिई आ आफ्नो शाखाले गर्दै आएको कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
मानवअधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भानु महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी अध्यक्ष रुपा लामा, व्यवस्थापक कल्पना सेढाई, मानवअधिकार समुहका सदस्यहरु रामबहादुर ढकाल, तुलसी गैरे, रुक्मिणी खनाल, विष्णुकुमारी श्रेष्ठ, चिनिमाया प्रधान लगायतले विभिन्न जिज्ञासा राख्नु भएको थियो । सो कार्यक्रमको सहिजकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.