December 8, 2022

समुन्द्र पाैडेल/दमाैली

दमौली अस्पतालमा संचालनमा रहेको दमौली आँखा उपचार केन्द्रको नाम परिर्वतन गरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको बुबाको नाम राखिएको छ। मुख्यमन्त्री पोख्रेलको बुबाको नामबाट ‘गोबर्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ राखिएको हो।
दमौली अस्पतालमा झण्डै २ महिना अघि देखी गोबर्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्रको बोर्ड टाँगिएपनि अहिलेसम्म कुनै किसिमको पुर्वाधार थप भएको छैन। नियमित आँखा परिक्षणको संरचनामा कुनै पनि सेवा बिस्तार नगरी अस्पताल परिसरमा मुख्यमन्त्रीका बुबाको नामको अनुसन्धान केन्द्रको बोर्ड राखिएको दमौली अस्पतालका निवर्तमान अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए।
‘अस्पतालले संचालन गरेको आँखा उपचार केन्द्रमा कुनै सुविधा बिस्तार भएको छैन,’ अधिकारीले भने, ‘खुसी पार्नकै लागि हतारमा बोर्डमात्र झुण्डाउने काम भएको छ ।’ प्रदेश सरकारले कार्यक्रम संचालन गर्ने घोषणा गरेपनि नियमित चलिरहेको कार्यक्रममा नाम मात्र परिर्वतन गरिएको अबस्था रहेको उनले टिप्पणी गरे। ‘विशेषज्ञ सहितको आँखा उपचार केन्द्र संचालनका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको सुखद कुरा हो,’ उनले भने, ‘सरकारी अस्पतालमा संचालनमा रहेको आँखा उपचार केन्द्रमा पूर्वाधार र सेवा बिस्तार नगरी बोर्ड मात्र झुण्डाएर राख्नु पक्कै राम्रो कुरा होइन।’
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय मार्फत डेढ करोडको कार्यक्रम आएपछि अस्पताल परिसरमा रहेको आँखा उपचार केन्द्रको नाम परिवर्तन गरी नयाँ बोर्ड टाँगिएको दमौली अस्पतालमा प्रमुख डा। सुनिल पौडेलले बताए। ‘आँखा उपचार केन्द्र र अनुसन्धान केन्द्रका लागि यो चौमासिकमा ५० लाख बिनियोजन भएर आएको छ।’ उनले भने, ‘डेढ करोडको कार्यक्रममा कर्मचारी व्यवस्थापन, उपकरण र भवन निर्माणलाई समेटिने छ।’
आँखा उपचार केन्द्रमा प्राथमिक उपकरण पहिल्यै देखी नै भएपनि कार्यक्रम संचालन भएपछि स्थानीय सर्वसाधारणलाई आँखाको उपचारमा सहज हुने पौडेलले बताए। आँखा उपचार केन्द्रको भवन निर्माणका लागि जग्गा आवश्यक रहेकाले जग्गा उपलब्ध गराउन प्रदेश तहमा पहल भईरहेको उनको भनाई छ।
‘जग्गा प्राप्तीको काम अघि बढिरहने छ, जग्गा मिले लगतै भवन निर्माणको काम अघि बढाउने तयारीमा छौ,’ पौडेलले भने, ‘कार्यविधी समेत नबनेको अबस्था भएकाले काममा केही ढिलाई भएको छ।’
दमौली आसपासका क्षेत्रमा आँखाका विरामी बढ्न थालेपछि लायन्स क्लव अफ तनहुँले २०५१ सालदेखी हिमालयन आँखा अस्पताल पोखरासंगको सहकार्यमा हरेक महिनाको १८ र १९ गते दमौलीमा आँखा शिविर संचालन गर्दै आएकोमा ८ वर्षदेखी लायन्स क्लव अफ तनहुँकै सक्रियतामा दमौली अस्पताल परिसरमा लायन्स आँखा उपचार केन्द्र स्थापना गरिएको थियो । ‘हरेक महिनाको दुई दिन आँखा शिविर संचालन गरेर गम्भिर अबस्थाका विरामीलाई पोखरामा निशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका थियौ,’ लायन्स क्लव अफ नेपाल ३२५ ‘बि’ का पुर्व गभर्नर अशोककुमार श्रेष्ठले भने, ‘अस्पतालमा संचालक समिति परिर्वतन भएसंगै अस्पताल परिसरबाट लायन्स क्लवलाई आँखा उपचार केन्द्रबाट छुट्टाउने प्रयत्न भयो ।’
लायन्स क्लव अफ दमौलीले अहिले अस्पताल परिसर बाहिर अनसनचौतारा नजिकै कोठा भाडामा लिएर आँखा उपचार केन्द्र संचालन गरेर सर्वसाधारणलाई सेवा प्रदान गर्दै आइरहेको श्रेष्ठले बताए । उनले भने, ‘स्पेश नभएको भन्दै अस्पताल विकास समितिले अस्पताल परिसरमा बस्न नदिएपछि भाडा तिरेर उपचार केन्द्र संचालन गर्दै आइरहेका छौ।’
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका प्रवक्ता डा। रामबहादुर केशीले स्वास्थ्य निर्देशनालयको निर्णय बमोजिम यो आर्थिक बर्षमा तनहुँमा गोबर्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र, बाग्लुङमा हरि खड्का ट्रमा केयर सेण्टर र कास्कीको अन्नपूर्ण गाउँपालिकामा शहिद छलिमाया हाइबे अस्पताल को कार्यक्रम अघि सारेको जानकारी दिए। ‘गोबर्धन शर्माको मृत्युको कारण आँखा नदेख्ने सम्बन्धी रोग भन्ने सुनेको थिए’, डा। केशीले भने, ‘दुर्घटनामा ज्यान गुमाएका खड्काको नाममा ट्रमा सेन्टर र द्धन्द्धकाल ज्यान गुमाएकी शहिद छलिमायाको नाममा अस्पतालको कार्यक्रम अघि बढाएको हो।’ आँखा उपचार तथा अनुसन्धान केन्द्रलाई डेढ करोड र अन्य अस्पताललाई करिब ५०÷५० लाख रुपैया बिनियोजन गरिएको मन्त्रालयले जनाएको छ।
स्व।गोबर्धन शर्मा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल, संविधान सभाको सदस्य रामचन्द्र पोखरेल र राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा। जगदिशचन्द्र पोखरेलका बुबा हुन । उनले नेपाली कांग्रेसका विभिन्न आन्दोलनमा अग्रणी भूमिका खेलेका थिए।
स्व। हरि खड्का २०७० सालको निर्वाचनमा नेपाली कांग्रेस बाग्लुङ–१का निर्वाचित सांसद हुन। तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको प्रमुख आतिथ्यतामा बाग्लुङको बलेवामा आयोजना गरिएको एक विद्यालयको महायज्ञमा जाने क्रममा सवारी दुर्घटनामा परी उनको मृत्यु भएको थियो। उनको मृत्यु भएपछि उनको सम्झनामा ट्रमा सेन्टर संचालन गर्ने चर्चा चलेपनि बजेटका कारणले रोकिएको कार्यक्रम अहिले गण्डकी प्रदेश सरकारमा कांग्रेसले नेतृत्व लिएपछि गति लिन थालेको स्रोतले जनाएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएकी छलिमाया नेपालीले शसस्त्र द्धन्द्धको समयमा २०६८ फागुन १२ गते तनहुँ शुक्लागण्डकीको कुम्लेखोलामा ज्यान गुमाएकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *