December 9, 2022

भिमाद – राष्ट्रिय जनगणना २०७८ अन्तर्गत मुख्य प्रश्नावली भर्नका लागी खटिने गणकहरुको तालिम सुरु भएको छ । शनिबारबाट तनहुँका भिमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसमा गणकहरुको लागी तालिम सुरु भएको हो । चार दिनसम्म चल्ने तालिमको भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले उद्घाटन गरे । मेयर थापाले सरकारले १० बर्षको अवधिमा गर्ने जनगणनालाई ब्यवस्थित बनाउन स्थानीय सरकारले अावश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले जनगणना देशको वास्तविक चित्र भएको दावि गर्दै गणनाका क्रममा गभ्भिर बन्न गणकहरुलाई आग्रह गरे ।

उनले नागरिकको अवस्थाको पहिचानका लागि समेत स्थानीय सरकारले गणनाको पहल गरेको भएता पनि वास्तविक तथ्याक प्राप्त गर्न नसकेको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय जनगणना कार्यालयका निर्देशक लिलाप्रसाद मिश्रले गणकहरु मध्ये बेरोजगार शिक्षित र युवा जनशक्तिलाई अवसर प्रदान गरिएको भन्दै सहि तथ्याङ्क प्राप्त गर्न सक्ने विस्वास ब्यक्त गरे । उनले युवा पुस्तामाथि गरिएको विस्वासलाई कायम गर्ने समेत आग्रह गरे ।

कार्यक्रममा भिमाद नगरपालिकाकी उपमेयर शारदा खनाल, जनगणना कार्यालय तनहुँका प्रमुख नन्दलाल सापकोटा, भिमाद नगरपालिका वडा न ६ का वडाध्यक्ष श्यामसुन्दर जोशी, वडा न ७ का वडाध्यक्ष सुर्यकुमार श्रेष्ठ लगायतले गणकहरुलाई सहि विवरण संकलन गर्न अनुरोध गरे । उनीहरुले वडादेखि देशको हरेक क्षेत्रका विकास गर्नका लागी सरकारले गर्ने यो गणनालाई आधार मानिने भएकाले गलत रिपोर्टले काम गर्न बाधा पुग्ने पक्षलाई ध्यान पुयाउन पनि सचेत गराए ।

भिमाद नगरपालिकाकी शिक्षा शाखा प्रमुख तथा सुचना अधिकारी समेत रहेकी टेकावती ढकालको अध्यक्षतामा भएको तालिममा भिमाद सँगै ऋषिड र घिरिड गाउँपालिकाका ९० गणक र १० सुपरिवेक्षक गरी एक सय जना सहभागि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *