May 17, 2022

दमाैली – तिहारपर्व नजिकिदै आएपछि दमौली बजारका क्षेत्रहरु झिलिमिली बन्न थालेका छन। दमौली बजारको व्यास-२ स्थित अमरसिंह मार्ग, ग्रिनसिटी मार्गमा झिलिमिली बत्ती बाल्न थालेपछि सर्वसाधारणको आकर्षण बढ्न थालेको छ। दमौलीको अनसन चौतारी क्षेत्रमा पनि झिलिमिली बत्ति जडान गरिएकाे छ।
अमरसिंह टोल विकास संस्थाले गत वर्षदेखी नै चाडपर्वको समयमा टोलमा झिलिमिली बत्ती बाल्न थालेको अमरसिंह टोल विकास संस्थाका अध्यक्ष हविव खानले जानकारी दिए। १ लाख भन्दा बढिको लागतमा टोलमा बत्ती जडान गरिएको हो ।
‘झिलिमिली बत्ती जडान भएपछि रातको समयमा सर्वसाधारणको चहलपहल बढ्ने गरेको छ,’ उनले भने, ‘व्यापार व्यवसायमा समेत केही फाइदा पुगेको छ।’ दमौली भ्रमण गर्न आएका र स्थानीय युवा पुस्ता बत्तीको झिलिमिलीमा फोटो र टिकटक खिच्न समेत आउने गरेका छन ।
टोल भनेको घर जस्तै भएकाले चाडपर्वमा घरमा जस्तै टोललाई पनि उज्यालो बनाउन टोलले गत वर्षदेखी चाडपर्वमा अभियान शुरु गरेको उनले बताए।
ग्रिनसिटी टोल विकास संस्थाले करिब २ लाख २० हजार रुपैयाको लागतमा झिलिमिली बत्ती जडान गरेको हो । चाडपर्वको समय शुरु भएलगतै टोल विकास संस्थाले सरसफाई र आकर्षणका लागि झिलिमिली बत्ती जडान गरेको ग्रिनसिटी टोल विकास संस्थाका सुरेश वाग्लेले जानकारी गराए।
‘चाडपर्वमा झिलिमिली बत्ती बल्दाँ टोलकौ सौन्दर्यतामा बृद्धि गरेको छ’ उनले भने, ‘सर्वसाधारणको पनि आकर्षण बढेको पाएका छौ ।’ ग्रिनसिटी टोलमा पनि फोटो खिच्ने र भिडियो बनाउने सर्वसाधारण आउने गरेका छन ।
अनसनचौतारी क्षेत्रमा रहेका रुखमा पनि बत्ती जडान गरिएको छ। सम्भवतः नेपालकै लामो चौतारा दाबी गरिएको अनसनचौतारी क्षेत्रलाई थप आकर्षण बनाउन चाडपर्वको समयमा झिलिमिली बत्तीले थप सहयोग पुर्‍याउने व्यास नगरपालिका वडा नं. ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.