भेटनरीकाे जग्गामा आँखा अनुसन्धान केन्द्रकाे शिलान्यास

Byखवरबाटिका

१७ कार्तिक २०७८, बुधबार १२:४५ १७ कार्तिक २०७८, बुधबार १२:४५ १७ कार्तिक २०७८, बुधबार १२:४५

समुन्द्र पाैडेल/दमाैली

संघीय सरकारको मातहतमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको जग्गामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले बुबाको नाममा आँखा उपचार तथा अनुसन्धान केन्द्रको भवनको शिलान्यास गरेका छन । मंगलबार मुख्यमन्त्रीले गोबर्धन शर्मा मेमोरियल आँखा उपचार केन्द्र तथा अनुसन्धान केन्द्रको टेण्डर आह्वान समेत नभएको भवनको शिलान्यास गरेका हुन ।
दमौली अस्पताल मातहत रहने उक्त अनुसन्धान केन्द्रको भवन शिलान्यास गरिएको जग्गा भने साबिक जिल्ला पशु सेवा कार्यालयको नाममा रहेको छ । दमौली अस्पतालमा संचालनमा रहेको आँखा उपचार केन्द्रको नाममात्र परिर्वतन गरेर तिन महिना अघिदेखी मुख्यमन्त्री पोख्रेलको बुबा गोबर्धन शर्माको नाममा आँखा अनुसन्धान केन्द्रको बोर्ड झुण्डाइएको थियो । मुख्यमन्त्री पोख्रेलले आँखा उपचार केन्द्रको पनि मंगलबार नै उद्घाटन गरेका हुन।
३ महिना अघिदेखी मुख्यमन्त्रीको बुबाको नाममा अनुसन्धान केन्द्रको नामबाट बोर्ड झुण्डाइएको भएपनि हालसम्म थप प्रविधी तथा उपकरण नभित्रिएको दमौली अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । ‘अहिलेसम्म कुनै थप उपकरण आएको छैन,’ उनले भने,‘पुरानै स्थानमा बोर्ड झुण्डाइएकोमा नयाँ भवनमा स्थानान्तरण मात्र गरिएको हो ।’ मुख्यमन्त्रीले आँखा अनुसन्धान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम तय भएपछि केही दिन अघि अस्पतालका कर्मचारीले अस्पताल मातहतको पुरानो खेलकुद भवनमा पुरानै उपकरण सारेका थिए । उद्घाटनको क्रममा मुख्यमन्त्री पोख्रेलले आँखा समेत परिक्षण गराएका थिए ।
भवन र आँखा उपचार केन्द्र तथा अनुसन्धान केन्द्रका लागि डेढ करोड आवश्यक पर्ने अनुमानित विवरण प्रदेश सरकारलाई पठाएकोमा यो आर्थिक वर्षमा डेढ करोड रुपैया बिनियोजन गरेको छ । भवन निर्माणका लागि हालसम्म कुनै टेण्डर नभएको अस्पतालका निवर्तमान अध्यक्ष प्रदीप अधिकारीले जानकारी दिए ।
दमौली अस्पताललाई ५० शैयाको अस्पतालमा स्तरोन्नती गर्नका लागि बर्षौदेखी जग्गा माग गर्दा प्राप्त नपाएको भेटरिनरी अस्पताल र कृषि ज्ञान केन्द्र तनहुँको जग्गामा मुख्यमन्त्री पोख्रेलले भवनको शिलान्यास गरेका हुन । कृषि ज्ञान केन्द्र मातहतको नाममा रहेको जग्गा हस्तान्तरणका लागि कार्यालयबाट कुनै पनि प्रक्रिया अघि नबढेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । ‘संघीय सरकारको जग्गा भएकाले यसमा हाम्रो भूमिका खासै रहदैन, प्रशासन कार्यालयबाट सिफारिस भएको सुनेको छु।’ उनले भने, ‘कृषि कार्यालयलाई आवश्यक पर्छ भनेर राखिएको जग्गा हो, विद्यार्थी र कृषकलाई अनुसन्धान केन्द्र बनिरहेको छ।’ मुख्यमन्त्री पोख्रेलका बुबा गोबर्धन शर्माको स्मृतीमा स्थापना गर्न लागिएको आँखा अनुसन्धान केन्द्रका लागि भेटरिनरी कार्यालयको ५ रोपनी र कृषि ज्ञान केन्द्रको ४ रोपनी जग्गा ओगट्ने तयारी रहेको छ ।
मुख्यमन्त्री पोख्रेलले भवन शिलान्यास गरेको जग्गा दमौली अस्पतालको स्वामित्वको नभई हाल भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उपभोग गरिरहेको संघीय सरकारको स्वामित्वमा रहेको जग्गा भएको भूमी व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म न्यौपानेले बताए। ‘जिल्लाको केन्द्रको सिफारिस पछि प्रदेश मन्त्रालयको सिफारिस हुँदै संघीय मन्त्री परिषदबाट स्वीकृत भएपछि मात्र कानुनी हिसाबमा अस्पतालले जग्गा पाउन सक्छ’ उनले भने, ‘हालसम्म यस बिषयमा मन्त्रालयमा कुनै पनि सिफारिस आएको छैन, त न हामीले माथिल्लो निकायलाई कुनै पत्राचार गरेका छौ ।’
मुख्यमन्त्रीले बलमिच्याई प्रबृत्तिमा आँखा उपचार केन्द्रको भवनका लागि जग्गा अतिक्रमण गरिएको प्रदेश मन्त्रालयको बुझाई छ । ‘मान्छेका नजरमा पशु कार्यालय परिसरमा घाँस उम्रिएको देख्न सकिन्छ,’ मन्त्रालयका अर्का एक कर्मचारीले भने, ‘कृषकले मात्र घाँस चिन्छन, हरेक पशु सेवा केन्द्र आफैमा कृषकको अनुसन्धान केन्द्र हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *