काठमाडौं – पदमा रहँदा मन्त्रीहरुको त्यसै हाइफाइ हुने नै भयो। मन्त्री भनेपछि मन्त्रालय हाँक्ने ‘ड्राइभर’ नै हो । उसैको भरमा मन्त्रायलले के गर्ने, के नगर्ने भन्ने निर्णय हुन्छ । तर, धेरैजसो मन्त्रीहरु चर्चा पाउनका लागि केही गरेजस्तो गर्छन् भने कोही साँच्चिकै मनैदेखि मन्त्रालय, मातहत निकाय र सर्वसाधरणका निम्ति खट्दा पनि पर्दा पछाडि नै रहेको पनि देखिएको छ।

सन्दर्भ कहाँ जोड्न खोजिएको हो भने बुधबार सिनामंगलस्थित होटेल बाल्टिक इनमा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ पुगे । उनी त्यहाँ विशेष सूचनाका आधारमा पुगेका थिए। एजेन्टले बुधबार साँझ कोरिया जान लागेका युवाहरुलाई होटेलमा बन्धकझैँ बनाएर राखेको र युवाहरुबाट रकम असुलेको सूचनाका आधारमा मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए।

भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जानका लागि तयार रहेका युवाहरुलाई एजेन्टले बन्धक नै बनाएर अवैध ढंगले रकम असुल्न खोजेको भन्दै एक पीडित युवाले मन्त्री श्रेष्ठलाई सूचना दिएका थिए । मन्त्री श्रेष्ठले फेसबुक मार्फत उक्त पीडित युवाबाट सूचना पाएपछि सुरक्षाकर्मी, श्रम विभागका अधिकारी सहित तत्काल सिनामंगल पुगे । त्यहाँ पुग्दा सबै कुरा बाहिर आयो– बुधबार साँझ कोरिया उड्न लागेका दजनौँ युवालाई अनिवार्य सात दिन क्वारेन्टाइन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्ट स्थित होटल बाल्टिक इनमा रकम असुल्न जबर्जस्ती राखेको रहेछ ।

तर, कोरिया जान लागेको युवामध्ये शंकर नेपालले त्यस्तो थाहा पाएपछि मन्त्री श्रेष्ठलाई तत्काल खबर गरेका रहेछन्। ती युवाले खबर गरेपछि त्यहाँ पुगेका मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनेपछि होटेलमा बन्धक बनाउने र रकम असुल्न खोज्ने कार्यमा संलग्न एजेन्टसहित सबैलाई कारबाही गर्न निर्देशन दिए । मन्त्री श्रेष्ठले बन्धनसरी बनाएर रकम असुल्न खोज्ने ती एजेन्टलाई भेटेर थर्काए ।

इमान्दारपूर्वक अहिलेसम्म क–कस्को कति रकम लिएको छ सबै फिर्ता गर्नू र कोरिया उड्ने दिन आफू एयरपोर्ट आउँदा एकजनाले कम्प्लेन गरेको खण्डमा सिधै थुन्दिन्छु भन्दै मन्त्री श्रेष्ठले ती एजेन्टको सातो खाइदिए । ‘रकम क–कसको लिएको छ फिर्ता गर्नुस् । उहाँहरू उड्ने बेलामा म एयरपोर्ट आउँछु त्यहाँ एकजना भाइले कम्प्लेन गर्यो भने सिधै थुन्छु है म फेरि । क्लियर हुनुस् है त,’ मन्त्री श्रेष्ठले ती एजेन्टलाई थर्काए ।

मन्त्री श्रेष्ठले भविष्य बनाउन विदेश जान लागेकालाई टेन्सन नदिन भन्दै जति दिन क्वारेन्टाइन बसेका छन् त्यति दिनको सबैको रकम फिर्ता गर्न पनि ती एजेन्टलाई भने । ‘जो जोसँग सात दिनको पैसा लिनुभएको छ, सबको फिर्ता गर्नुस् । अब तपाईंलाई मर्का पर्यो होला, कसले एग्रिमेन्ट गर्यो ऊ सँग माग्नुस् । यो भाइबैनीहरूसँग माग्ने होइन,’ मन्त्री श्रेष्ठले भने ।

त्यसपछि मन्त्री श्रेष्ठले पीडित युवाहरुसँग खेप्नुपरेको टर्चरप्रति माफी पनि मागे । ‘भाइहरूले अहिलेसम्म जति टेन्सन लिनुभयो, जति टर्चर लिनुभयो त्यसका लागि सरी । मन्त्रालयको हेड त म हो । एउटा खरिदार, कर्मचारी जसले गल्ती गरे पनि त्यसको जिम्मेवारी मैले लिनुपर्छ। त्यसका लागि फेरि पनि सरि हैँ ।’ मन्त्रीले चासो दिँदा के असम्भव रहेछ ? सम्भव छ। त्यसो सबैभन्दा ठगी र चलखेल हुने भनेर चिनिने वैदेशिक क्षेत्रको यो घटना एक उदाहरणमात्र हो । राजधानीमा यस्ता अलुप्त घटना कति छन् कति ? त्यसमा मन्त्रालय, विभागकै कर्मचारी, एजेन्ट, म्यानपावर व्यवसायीलगायतको मिलेमतोमा युवाहरु वैदेशिक रोजगारीका नाममा ठगिँदै आइरहेका छन् । बुधबार युवाहरु ठगी हुनबाट बचाउने मन्त्री श्रेष्ठले आगामी दिनमा यस क्षेत्रका विकृति निर्मूल बनाउन सक्नुपर्छ जसरी कुलमान घिसिङले नेपालमा लोडसेडिङ मुक्त गरेर देखाइदिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *