May 22, 2022

 

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ ।

बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका भएपनि प्राविधिक कारणले साढे तीन घण्टा ढिलो गरि मतदान सुरु भएको हो । मतपत्र छपाइमा केही बिलम्ब भएका कारण मतदान तोकिएको समयमै सुरु नभएको जनाइएको छ ।

मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन् । विभिन्न पदका उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन् ।

राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

महाधिवेशनबाट सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् ।

Leave a Reply

Your email address will not be published.