May 16, 2022

दमौली  । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज मुलुकका सबै जिल्ला कमिटीको अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।गत मंसिर १० देखि १४ सम्म चितवनमा भएको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी मंसिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले पुस २३ मा जिल्ला र आउँदो माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो । महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौं’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इन्चार्ज गृहजिल्ला पुगेका छन् ।

जिल्ला तथा प्रदेश अधिवेशनका लागि राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाइने भएको छ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । जिल्ला अध्यक्ष माथिल्लो कमिटीमा निर्वाचित भएको स्थितिमा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने भएको छ ।

एमालेले जनसंगठनको सुदृढीकरणका लागि १० औं राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशाअनुरुप जनसङ्गठनलाई नीतिगतरुपमा परिचालित गर्ने गरी आवश्यक योजना बनाउन थालेको छ । जनसंगठनको कार्यक्षेत्रसँग सम्बद्ध अन्य संगठनमा आबद्ध व्यक्तिको प्रवेशको सम्भावना आकलन गरी सम्बन्धित सङ्गठनमा प्रवेशको योजना अघि बढाउने र सबै जनसंगठनले आ–आफ्नो कामको आवश्यकताका आधारमा कमिटीको आकारलाई चुस्तदुरुस्त बनाउने गरी विधानमा आवश्यक संशोधन गर्न एमालेले निर्देशन दिइसकेको छ । एमालेको जनसङ्गठन संयन्त्रले ती संगनका काम गरेका नेता कार्यकर्ताको व्यवस्थापन र सङ्गठन परिचालनबारे नयाँ मापदण्ड पनि तयार गरिरहेको छ ।

लामो समयदेखि सम्बन्धित जनसंगठनको वैधानिक व्यवस्थाअनुरुप हुन बाँकी (आधारभूत तहदेखि राष्ट्रिय तहसम्मको) अधिवेशन/सम्मेलन/महाधिवेशन आगामी फागुन मसान्तसम्ममा आयोजना गर्ने गरी कार्ययोजना तयार गर्न पनि एमालेले निर्देशन दिएको छ । एमालेमा हाल २२ जनसंगठन छन् ।

Leave a Reply

Your email address will not be published.