दमौली । नाबालिका गायिकामाथि बलात्कार गरेको अभियोगमा अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहँुमा जाहेरी दर्ता भएको छ । पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए । उनका अनुसार करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएसँगै १७ वर्षीया गायिकाले दमौलीमै मेडिकल चेकअप गराइसकेकी छन् । तनहँु प्रहरीका प्रवक्ता समेत रहेको डिएसपी खड्काले भने, “उजुरी दर्ता भएको छ । यसबारेमा हामीले अनुसन्धान गरिहेका छौं।” शाहले म्युजिक भिडियो सुटिङका क्रममा २०७८ बैशाख १४ गते जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौंडा स्थित प्रदीप थापाको घरमा करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए । यही क्रममा एक जना ठूलो मिडियाका पत्रकारले उनलाई पलसँग भिडियो खिचाएर उनीहरू आपसमा मिलेका छन् भन्दै पललाई जोगाउन र गायिकालाई ‘होस्टाइल’ गराउन युट्युबमा भिडियो अपलोडसमेत गरेका थिए । यस अघि कास्कीमा प्रयास गरिए पनि कार्यक्षेत्र नपर्ने भन्दै त्यहाँको प्रहरीले नमानेपछि तनहुँमा शाहविरुद्ध जाहेरी दर्ता भएको बताइएको छ । मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ । विगत अन्दाजी ३ महिना अगाडिदेखि एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकीले नाबालक छोरीलाई के भएछ भनी परिवारले कर गर्दा करणीको कुरा खुलाएको जाहेरीमा उल्लेख छ । हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।
यस्तो छ जाहेरीमा उल्लेख विवरण :
निज पूर्ण विक्रम शाह (पल शाह) ले देखावटी रुपमा माया प्रेम गरेको बहाना गरी भिडियो सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन् । निज पूर्ण विक्रम शाह र मेरी नाबालिका छोरीले संयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक पटक जबरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हन नसकेको रहेछ ।
यस क्रममा २०७७÷१२÷३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेस थापासमेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कँदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाको बखत समेत बाल यौन दुरुपयोग गरी संवेदनशील अङ्गमा चलाउने, जिस्काउने , समात्ने जस्ता कार्य समेत गरेको
र मिति २०७८÷०१÷०२ गते काठमाडौँ पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाडौँको बसाईमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन्, त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात् निज प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) ले फोन गरी सुटिङको लागी म पोखरा आउँदै छु, तिमीलाई म भेट्छु, भनी पोखरा स्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउनको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौँ जानु पर्ने भएको हुँदा मिति २०७८÷०१÷१४ गते साँझ १९ः०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म रक्सी खाएर बसेको र राती अं. १२ बजे तिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढक ढक गर्न आएका रहेछन् ।
छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सर्नप¥यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनि जबर्जस्ती करणी गरेका रहेछन् ।
छोरीलाई माया गरेको देखाउनुको लागि वारदातको भोलिपल्ट ढोर वाराही मन्दिर समेत घुमाई, दलेगौंडाको सुटिङ सकेर काठमाडौँ गएका रहेछन् ।