खैरेनीटारमा एकै मिति र स्थानमा दुई महोत्सव

Byखवरबाटिका

५ चैत्र २०७८, शनिबार ०८:४९ ५ चैत्र २०७८, शनिबार ०८:४९ ५ चैत्र २०७८, शनिबार ०८:४९
                             
खैरेनीटार । खैरेनीटारमा दुई महोत्सव एकै मिति, समय र स्थानमा हुने भएका छन् । व्यवसायीहरुबीच खिचातानीका कारण महोत्सवलाई जुधाँइएको हो ।

शुक्लागण्डकी उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइले यही चैत २४ देखि वैशाख ५ सम्म खैरेनीटारमा महोत्सव गर्न लागेका हुन् ।
शुक्लागण्डकी उद्योग वाणिज्य संघको आयोजना गर्न लागेको महोत्सवको नाम हो–शुक्लागण्डकी महोत्सव । अर्को शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइले आयोजना गर्न लागेको महोत्सवका नाम हो– शुक्लागण्डकी खैरेनीटार महोत्सव ।
एउटै ठाउँ र समयमा २ महोत्सवको मिति घोषणा गरिंदा यस क्षेत्रका व्यवसायी भने अन्योलमा परेका हुन् । सबै व्यवसायीको चाहना शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी उद्योग वाणिज्य संघ एउटै रुपमा प्रस्तुत भएर एउटै महोत्सव हुनुपर्नेमा जोड छ । साथै व्यवसायीले व्यवसायमा आँच नआउने गरी तथा असर नपर्ने गरी महोत्सव गर्न सुझाव दिएका छन् ।
यसअघि, शुक्लागण्डकी उद्योग वाणिज्य संघले महोत्सवको मिति घोषणा गर्दै तयारी थाल्दा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको छ । खैरेनीटारमा हुने शुक्लागण्डकी खैरेनीटार महोत्सवमा करिब २ सय २५ स्टल रहने भएका छन् ।
आयोजकका अनुसार हालसम्म करिब १ सय ओटा स्टल बुकिङ भइसकेको पनि जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै शुक्लागण्डकी ७ का वडा अध्यक्ष रामबहादुर क्षत्री थापाले एउटै समय र स्थानमा महोत्सव गर्दा कति लाभांश होला भनी जिज्ञासा राखेका थिए । उनले विभाजित भएर होइन मिलेर महोत्सव गर्नुपर्नेमा जोड दिए । उनले वडा ७ लाई आत्मनिर्भर बनाउन प्रयास गरेको समेत जानकारी दिए ।

महोत्सवका प्रवक्ता हरिबहादुर थापाले शुक्लागण्डकी उद्योग वाणिज्य संघले आयोजना गरेको एउटै समय र स्थानको महोत्सव स्थगित गरी आफूहरुलाई सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रममा खैरेनीटार बजार इकाइ सभापति पूर्णबहादुर कायस्थले महोत्सवले ठाउँको पहिचान गराउने बताउँदै महोत्सवबाट हुने नाफाले बजार व्यवस्थापन गरिने जनाए । यस्तै उनले महोत्सवमा बालकलाकारलाई फोकस गरिने र कालिज चराको स्टल पनि रहने बताए ।
महोत्सवका निर्देशक समुद्रराम श्रेष्ठले महोत्सवबारे प्रकाश पार्दै महोत्सवबाट हुने आम्दानीको ४० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने बताए । उनले यस महोत्सव नगर उद्योग वाणिज्य संघ बनेपछिको पहिलो महोत्सव भएको समेत जनाए । कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ अध्यक्ष उज्वल पौडेलले महोत्सवले महोत्सव किन, के र कसका लागि भन्ने कुरालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा शुक्लागण्डकी नागरिक समाज अध्यक्ष खेमराज खनालले यस महोत्सव शुक्लागण्डकी नगरपालिकाको सबै वडाको महोत्सव बन्नुपर्ने बताए ।
खैरेनीटार बजार इकाइ सभापति पूर्णबहादुर कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका सचिव तथा महोत्सव प्रवक्ता हरिबहादुर थापाले स्वागत र इकाइ सचिव प्रमोद लामिछानेले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *