May 22, 2022

तनहुँ । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी नेकपा एमालेबाट उम्मेदवार बन्नेको लर्को लागेको छ । जिल्लामा विभिन्न स्थानीय तहमा दर्जन बढीले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् ।

व्यास नगरपालिकामा को-को ?

जिल्लाको व्यास नगरपालिकाको मेयरमा नेकपा एमालेबाट १२ जना आकांक्षी देखिएका छन् । नेकपा एमाले व्यास नगर कमिटीको सोमबार आयोजित बैठकमा मेयर बन्न १२ जनाले आकांक्षा व्यक्त गरेका हुन् ।

मेयरका लागि राजेन्द्र कार्की, रत्न कुमार श्रेष्ठ, इश्वर बहादुर विष्ट, कुल बहादुर थापा, दिपेन्द्रराज शाही, अनिल पाण्डे, देवी बहादुर बस्नेत, दिर्घ बहादुर दरै, प्रदिप अधिकारी, तुल्सीराम पाण्डे, सीता पाण्डे र ऋषिराम भुषालले आकांक्षा व्यक्त गरेका छन् ।

यसैगरी उपमेयरका लागि बसुन्धरा घर्ती, वेदकुमारी वाग्ले र वीरेन्द्र अधिकारीले दावी गरेका छन् ।

भानु नगरपालिकामा को-को ?

भानु नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट ७ जना आकांक्षी देखिएका छन् । उम्मेदवार चयन गर्ने सम्बन्धमा गत बुधबार आयोजित नगर कमिटीको बैठकमा ७ जनाले मेयरमा र ४ जनाले उपमेयरमा आकांक्षा देखाएका छन् ।

बैठकले उम्मेदवार सिफारिस सम्बन्धी कुनै निर्णय गर्न नसकेपछि प्रस्तावित सबै नामलाई जिल्ला कमिटी मार्फत प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ ।

मेयरको आकांक्षीहरुमा सुनिल पाण्डे, सीताराम बजगाई, हरिबहादुर पाण्डे, कलाकुमारी ढकाल, शंकर रानाभाट, कृष्णराज ढकाल र श्याम थापा रहेका छन् । यसअघि देखि मेयरको आकांक्षीको रुपमा सर्वाधिक चर्चा गरिएका नगर कमिटीका अध्यक्ष प्रेम रानाले आफ्नो इच्छा जाहेर गरेनन् । राना चुनावी कमाण्डर तोकिएका छन् ।

यस्तै उपमेयरमा रुपा लामा, देवु विष्ट, भगवती देउजा र गिता अधिकारीले नाम दर्ता गराएका थिए । ती नामहरु जस्ताको तस्तै जिल्ला कमिटीमा पठाईएको छ ।
बैठकले नगर कमिटीका अध्यक्ष प्रेम रानाको संयोजकत्वका ५ हजार १ सदस्यीय चुनाव परिचालन मूल समिति गठन गरेको छ ।

भिमाद नगरपालिकामा को को ?

नेकपा एमाले भिमाद नगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार छनौटका लागि मतदान गरेको छ ।

मेयरमा आठ जना आकाङ्क्षी भएपछि भिमाद नगर कमिटीले सोमबार मतदानमार्फत् दुई जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

मतदानमार्फत् भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापा र दधिराज सुवेदी मेयरका लागि सिफारिस भएका छन् । थापाले ५७ र सुवेदीले ५८ मत प्राप्त गरेका छन् । वर्तमान मेयर मेखबहादुर थापाले ३६ मत प्राप्त गरे ।

यसैगरी उपमेयरमा शारदा खनाल, नारायणी गैहे र चन्द्रावती श्रेष्ठ सिफारिस भएका छन् ।

एमालेको विधान बमोजिम मेयर उपमेयरमा दुई पुरुष र एक महिला उम्मेदवार सिफारिस गर्नुपर्ने प्रावधान थियो । सबै उम्मेदवारबीच छलफल भएपनि सहमति नभएपछि मतदानमार्फत् उम्मेदवार सिफारिस गरिएको बताइएको छ ।

शुक्लागण्डकीमा को-को ?

शुक्लागण्डकी नगरपालिकाको मेयरमा हालकी उपमेयर सविता रसाईली, श्यामराजा महत र मुक्ति तिमिल्सनाको नाम सिफारिस गरिएको छ । तीन मध्ये एक जना महिला अनिवार्य भएका कारण रसाईली सर्वसम्मत सिफारिस भएकी हुन् । रामचन्द्र उपाध्याय र देवलाल खनाल पनि मेयरका आकांक्षी थिए ।

यस्तै उपमेयरमा हर्क गुरुङ, विष्णुमाया पराजुली र फूलमाया वाग्ले सिफारिस भएका छन् । उपमेयरको रिङबाट कमल ढकाल बाहिरिएका छन् । नगर कमिटी सदस्यले उम्मेद्वार सिफारिसका लागि मतदान गरेका थिए ।

यस्तै उपमेयरमा हर्क गुरुङ, विष्णुमाया पराजुली र फूलमाया वाग्ले सिफारिस भएका छन् । उपमेयरको रिङबाट कमल ढकाल बाहिरिएका छन् । नगर कमिटी सदस्यले उम्मेद्वार सिफारिसका लागि मतदान गरेका थिए ।

२०७४ सालको निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भएर मेयरमा कांग्रेसका किसान गुरुङ निर्वाचित भएका थिए। उपमेयरमा भने माओवादीकी सर्वदा खनाल पराजित भएर एमालेकी सविता रसाइली निर्वाचित भएकी थिइन् । १२ मध्ये सात वडा एमाले, तीन वडा कांग्रेस र दई वडा माओवादीले जितेको छ ।

ऋषिङ गाउँपालिकामा को ?

ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेका चार जनाले दावी गरेका छन् । सोमबार आयोजित बैठकमा एमालेका चार जनाले अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका हुन् ।

गाउँपालिका अध्यक्षका लागि एमाले जिल्ला उपाध्यक्ष हरिराज कंडेल, सचिव राजेश्वर ढकाल, ऋषिङ गाउँ कमिटीका अध्यक्ष गजसिं गुरुङ र सचिव कविराज श्रेष्ठले इच्छा व्यक्त गरेका छन् । यस्तै उपाध्यक्षका लागि हुमादेवी रानाभाट, मधुमाया थापा, तारादेवी थापा र सुशीला गिरीले आकांक्षा व्यक्त गरेका छन् ।

घिरिङमा को-को ?

नेकपा एमाले घिरिङ गाउँ कमिटीले मतदानमार्फत् अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सिफारिस गरेको छ ।
अध्यक्षमा १० जना आकाङ्क्षी भएपछि गाउँ कमिटीले सोमबार मतदानमार्फत् उम्मेदवार टुङ्गो लगाएको हो । अध्यक्षका लागि वर्तमान अध्यक्ष रनबहादुर राना र होमबहादुर थापा सिफारिस भएका छन् ।

उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष सरस्वती सिग्देल सिफारिस हुन सकिनन् । उपाध्यक्षका लागि दुर्गामाया थापा, सुकमाया गुरुङ र राधा अधिकारी सिफारिस भएकी छन् ।

बन्दीपुरमा थापा

यस्तै जिल्लाको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले सुरेन्द्र थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.