तनहुँमा आइपुग्यो २ लाख ६९ हजार मतपत्र

Byकिरण श्रेष्ठ

१५ बैशाख २०७९, बिहीबार १८:४० १५ बैशाख २०७९, बिहीबार १८:४० १५ बैशाख २०७९, बिहीबार १८:४०

तनहुँ । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । जिल्लामा २ लाख ६९ हजार थान मतपत्र आएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिए । ती मतपत्र जिल्ला सदरमुकाम दमौलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित रूपमा राखिएको प्रमुख ढकालले बताए । मतपत्रको सुरक्षा सशस्त्र प्रहरीको टोलिले गर्ने उनले बताए ।

निर्वाचनका लागि जिल्लामा १ सय ३६ वटा मतदानस्थल र २ सय ९७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगाना जिल्लाको मुख्य निर्वाचन अधिकृत छन्।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले निर्वाचन सम्पन्न गराइने बताए । निर्वाचनमा सहभागी सबैको सुरक्षाको प्रत्याभूति हुने गरी जिल्लामा सुरक्षा योजना बनाइएको उनले बताए ।

तनहुँमा दुई लाख ४४ हजार ३४० जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत ढकालले जानकारी दिए । जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।

गत २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एक लाख चार हजार ३२७ महिला र ९० हजार १४४ पुरुष गरेर एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

यस्तै जिल्लामा १ हजार ७४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका चार नगरपालिका र ६ गाउँपालिकामा आइतबार र सोमबार कूल १ हजार ७४४ जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्लाको व्यास नगरपालिकामा ३ सय ३९ जना, भानु नगरपालिकामा ३ सय १७ जना, भिमाद नगरपालिकामा १ सय ३० जना, शुक्लागण्डकी नगरपालिकामा २ सय ५२ जना, आँबुखैरेनी गाउँपालिकामा १ सय ३५ जना, ऋषिङ गाउँपालिकामा १ सय १७ जना, घिरिङ गाउँपालिकामा ८६ जना, देवघाट गाउँपालिकामा ९८ जना, बन्दीपुर गाउँपालिकामा १ सय २६ जना, म्याग्दे गाउँपालिकामा १ सय ४४ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिए ।

यस्तै तनहुँका ५ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले गरेको मतदानस्थलको वर्गीकरण अनुसार ५ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् ।

जिल्लाका कुल १३६ वटा मतदानस्थल मध्ये ५ वटा मतदानस्थल अति संवेदनशील, ३८ वटा संवेदनशील र ९३ बाँकी समान्य रहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिए ।

अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए । अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिने उनले बताए । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *