
तनहुँ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले नेताको झगडा;लाई मिडियाले कन्टेन्ट बनाउन नहुने बताए ।
नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा शनिबार भएको निर्वाचन आचारसहिंता र पत्रकारहरुकाे भूमिका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पोख्रेलले सो कुरा बताएका हुन् ।
उनले सो अवसरमा पत्रकारले आचारसंहिताको पालन हलपल गर्नुपर्ने बताए । एकपक्षीय, द्वयस, घृणा फैलाउने समाचार पत्रकारले लेख्न नहुने अध्यक्ष पोख्रेलले बताए ।
‘पत्रकारले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन ।’ अध्यक्ष पोख्रेलले भने ‘निर्वाचनको बेला तटस्थ भएर काम गर्नुपर्छ ।’
साथै सोही कार्यक्रममा अध्यक्ष पोख्रेलले पत्रकार महासंघको सदस्य निर्वाचनमा उम्मेदवार बन्ने बित्तिकै स्वत सदस्यता खारेज हुने निर्णय भएको बताए । उनले थपे ‘साधारण सदस्यको हकमा भने सदस्यता नविकरण हुँदैन ।’
यस्तै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पत्रकारले यथार्थ बुझेर मात्र सूचना सम्प्रेषण गर्नुपर्ने बताए । निर्वाचनलाई भयरहित वातावरणमा बनाउन सबैको सहयोग आवश्यक रहेको प्रजिअ अर्यालले बताए ।
प्रमुख निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानले भयरहित निर्वाचनको प्राण भनेको आचारसंहिता भएको बताए । उनले अगाडी भने ‘पत्रकारले सबैको हो तर कसैको होइनौं भन्ने बनाउन सक्नुपर्छ ।’
यस्तै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले आचारसंहिता उल्लंघन गर्नेको तथ्यांक संकलन गरिरहेको बताए । उनले भने ‘अहिले तथ्यांक संकलन गरिरहेका छौं पछि सम्बन्धित निकायसम्म पुर्याउछौ ।’
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले मतदातालाई पत्रकारले तथ्य सुचना पुर्याएर सघाउनुपर्ने बताए । ‘मतदाताको अवस्थाको बारेमा जानकारी बाहिर ल्याउनुपर्छ । प्रमुख ढकालले भने ‘सहि सुचना छिटो छरितो प्रवाह गर्नुपर्ने दायित्व पत्रकारको हो ।’
कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीले आचारसंहिताको विषयमा छलफल गरेका थिए । साथै जिज्ञासा समेत राखेका थिए ।