March 25, 2023

तनहुँ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । अबको १२ दिनपछि मतदान छ । सम्पूर्ण राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरु प्रचारमा होमिएका छन् ।

उम्मेदवार मतदाता सामु पुगिरहेका छन् । दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब १० दिन मात्र बाँकी छन् । यो बीचमा प्रचारलाई अझ तीव्र पार्ने दलहरुले जनाएका छन् ।

सत्ता साझेदार दलको गठबन्धनदेखि अन्य उम्मेदवारहरुले शनिबारदेखि नै जिल्लाभर चुनावी अभियान थालेको छ ।

जिल्लाको व्यास नगरपालिकामा नेपाली कांग्रेस बिना गठबन्धन चुनावी मैदानमा होमिएको छ । व्यास मै एमाले र कांग्रेसका पुर्व नेता गोविन्दराज जोशी बीच चुनावी तालमेल छ ।

आआफ्नै हिसाबले प्रचारमा लागेका दल र उम्मेदवारहरुले आइतबारदेखि चुनावी अभियानलाई व्यवस्थित बनाउन लागेका हुन् । यसका लागि उनीहरुले वडागत रुपमा समय तालिका तयार गरेका छन् । मतदाता फकाउन स–साना भेला, सभादेखि घरदैलो अभियानमा दलहरु केन्द्रित छन् ।

जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकालले शनिबार उम्मेदवारलाई चुनाव चिन्ह दिइएको बताए । “दल र उम्मेदवारले चुनाव चिन्ह लिएर मतदाता कहाँ जाने, प्रचार गर्ने समय सुरु भएको छ”, उनले भने । ‘निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकायलगायत भने चुनावको व्यवस्थापकीय तयारीमा जुटेका छन् ।

जिल्ला निर्वाचन अधिकारी ढकालले चुनावमा खटिने जनशक्तिको व्यवस्थापन, खटनपटन, तालिमसहित निर्वाचन आयोगले तोकेका काममा आफूहरु केन्द्रित रहेको बताए ।

उनका अनुसार मतपत्रसहित चुनावमा प्रयोग हुने ५९ प्रकारका सामग्रीहरु जिल्लामा आइसकेका छन् । “व्यवस्थापकीय तयारीको काम अहिले भइरहेको छ, मतदान केन्द्रमा चाहिने सामग्री पछि मतदान अधिकृतसँगै पुग्छन्”, उनले भने, “सुरक्षा प्रबन्धको काम सोही निकायबाटै भइरहेको छ ।”

जिल्लामा १ सय ३६ मतदानस्थल र २ सय ९७ मतदान केन्द्र छन् । दुई लाख ४४ हजार ३४० जना मतदाता छन् । जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।

तनहुँको ४ पालिकामा मात्रै गठबन्धन

तनहुँका चार स्थानीय तहमा मात्रै सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएको छ । तनहुँका १० पालिकामध्ये शनिबारसम्म ४ पालिकामा मात्रै गठबन्धन भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा मात्रै गठबन्धन भएको छ । जसमा जसपा सामेल छैन । गठबन्धन पनि प्रमुख/उपप्रमुख पदमा मात्रै भएको छ ।

शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, घिरिङ गाउँपालिकामा, भिमाद नगरपालिमा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

शुक्लागण्डकी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुखमा माओवादीका राजु विक उम्मेदवार छन् । यस्तै देवघाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका तिल बहादुर थापा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिं गुरुङ उम्मेद्वार छन् ।

यता घिरिङ गाउँपालिकामा कांगेसबाट अध्यक्षमा गंगाराम कुमाल र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट पूर्णबहादुर थापाले मनोनयन दर्ता गरेका छन् । त्यस्तै भिमाद नगरपालिकामा एकीकृत समाजवादीबाट काजीमान श्रेष्ठले प्रमुखमा र नेपाली कांग्रेसबाट मिलन थापाले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *