December 10, 2022

तनहुँ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि तनहुँमा तीव्र तयारी भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मुख्य र निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तीव्र बनाएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिको खटनपटनको अन्तिम तयारी भएको जानकारी दिए । “चुनावमा खटाउने सम्भावित कर्मचारीको विवरण सङ्कलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराएका छौँ”, उनले भने, “मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्ती दिएर चुनावमा खटाउने अन्तिम तयारी गरेको छ ।”

निर्वाचन कार्यालयले १ हजार ४८५ जना निजामती कर्मचारी, स्थानीय तहका कर्मचारी, शिक्षक र स्वाथ्यकर्मीको विवरण पठाएको उनले जानकारी दिए । जसमध्ये ५९९ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई १ दिने तालिम दिएर कार्यस्थलमा पठाईने प्रमुख ढकालले जानकारी दिए ।

दश वटा स्थानीय तहका ८५ वडामा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र कायम गरिएको छ । २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत नियुक्ति गरिएको निर्वाचन अधिकारी ढकालले बताए । उनका अनुसार प्रत्यक मतदान केन्द्रमा अन्य २ जना सहायक कर्मचारी, १ जना सहयोगी र ३ जना स्वयसेवक रहनेछ ।

निर्वाचन आयोगबाट चुनावका लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा आइसकेको प्रमुख ढकालले बताए । २ लाख ६९ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले तनहुँका १३६ मतदानस्थलमध्ये ५ वटालाई अति संवेदनशील, ३८ वटा संवेदनशील र ९३ वटालाई सामान्य समूहमा राखेर योजना बनाएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए । अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिने उनले बताए । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।

“मतदान पूर्व, मतदान र मतदानपछिको तीन चरणको सुरक्षा योजना बनाएका छौँ”, उनले भने, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका जनशक्ति परिचालन गरिएको छ ।”

निर्वाचन सुरक्षाका लागि तनहुँमा १ हजार १८८ म्यादी प्रहरी भर्ना भएका छन् । मतदान केन्द्रमा १ हजार १८८ म्यादी प्रहरी र ८ सय नेपाल प्रहरी खटिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नयव उपरीक्षक युवराज खड्काले जानकारी दिए । सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।

जिल्लामा दुई लाख ४४ हजार ३४० जना मतदाता रहेका छन् । जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् । एक लाख चार हजार ३२७ महिला र ९० हजार १४४ पुरुष गरेर २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

जिल्लामा ४४५ पदका लागि १ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Advt.

Advt.

Leave a Reply

Your email address will not be published. Required fields are marked *