स्थानीय तह निर्वाचन: तनहुँमा करिब २ हजार ७ सय सुरक्षाकर्मी खटिने (सूची सहित)

Byकिरण श्रेष्ठ

२६ बैशाख २०७९, सोमबार ११:०७ २६ बैशाख २०७९, सोमबार ११:०७ २६ बैशाख २०७९, सोमबार ११:०७

तनहुँ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि तनहुँमा करिब २ हजार ७ सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

निर्वाचनका समयमा जिल्लामा नेपाली सेना ३६२, म्यादी प्रहरी १ हजार १८८, नेपाल प्रहरी ८ सय २० तथा सशस्त्र प्रहरी ३२६ गरी कूल २ हजार ६९६ जना परिचालन हुने भएका छन् । साथै राष्ट्रिय अनुसन्धान विभागबाट १५ जना खटिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले जिल्लाको १० स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको हो ।

स्थानीय प्रशासनले जिल्लामा रहेका कूल १३६ मतदानस्थलमध्ये ५ लाई अतिसंवेदनशील, ३८ वटा संवेदनशील र ९३ वटालाई सामान्य समूहमा राखेर योजना बनाएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिए ।

अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए । अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिने उनले बताए । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको निर्वाचन सुरक्षा मजबुद बनाउने तयारी गरिएको बताए । उनले भने, “यस पटकको निर्वाचन भएरहित वातावरणमा सम्पन्न गराउन हामीले सुरक्षा रणनीति निकै बलियो बनाएका छौँ, निर्वाचन बिथोल्ने खालका गतिविधि भए तत्काल कारबाही गर्छौं ।”

जिल्ला सुरक्षा समितिका अनुसार बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा रहने छ भने भित्री घेरामा प्रहरीको सुरक्षा रहने छ । निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा निर्वाचन सुरक्षाका लागि जिल्लाका १० वटै पालिकामा सुरक्षा निकायले सक्रियता बढाएका छन् ।

“मतदान पूर्व, मतदान र मतदानपछिको तीन चरणको सुरक्षा योजना बनाएका छौँ”, उनले भने, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका जनशक्ति परिचालन गरिएको छ ।”

दश वटा स्थानीय तहका ८५ वडामा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र कायम गरिएको छ । २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत नियुक्ति गरिएको निर्वाचन अधिकारी हरि प्रसाद ढकालले बताए । उनका अनुसार प्रत्यक मतदान केन्द्रमा अन्य २ जना सहायक कर्मचारी, १ जना सहयोगी र ३ जना स्वयसेवक रहनेछ ।

निर्वाचन आयोगबाट चुनावका लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा आइसकेको प्रमुख ढकालले बताए । २ लाख ६९ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा दुई लाख ४४ हजार ३४० जना मतदाता रहेका छन् । जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।

जिल्लामा ४४५ पदका लागि १ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *