December 8, 2022

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो ।

दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो । काँग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग२च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार विकले बताए ।

उनका अनुसार गाडीको सिसा फुटेको छ । घिरिङ गाउँपालिका- ५ मा चुनावी र्‍यालीमा सहभागी हुन पुगेका बालक नदीमा डुबेर बेपत्ता भएको विषयमा विवाद हुँदा सामान्य झडप भएको हो । सोमबार काँग्रेसको चुनावी र्‍यालीमा सहभागी हुन पुट्टार पुगेका घिरिङ-५ का १२ वर्षीय ईश्वर विक कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

आफ्नै हजुरआमा निरमाया विक दलित महिला सदस्यको उम्मेदवार भएपछि उनी र्‍यालीमा सहभागी भएको काँग्रेस घिरिङ गाउँपालिकाका सभापति यामबहादुर थापाले बताए । उनले सोमबारको बृहत् चुनावी सभामा सहभागी नभएको तर केही दिनदेखि पुट्टार आफन्तकोमा रहेका उनी र्‍यालीसहित पुगेका आफन्तसँग घर फर्किएको दाबी गरे ।

बेपत्ता विकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता विकको स्थानीय र प्रहरीको सक्रियतामा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

यो पनि :

घिरिङमा कांग्रेस र एमाले बीच ढुङ्गा हानाहान (फोटो/भिडिओ सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *