July 3, 2022
तनहुँ । तनहुँमा दुई जना महिला मात्रै वडाध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाको भानु नगरपालिका-१ को वडाध्यक्षमा कान्छीमाया तामाङ र आँबुखैरेनी गाउँपालिका-४ मा मिलन भुजेल निर्वाचित भएका हुन् । तनहुँमा दश पालिका र ८५ वडा रहेको छ । ८५ मध्य २ वडामा मात्रै महिला वडाध्यक्ष निर्वाचित भएका छन् ।
दुवै जना नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । तामाङले ६७२ मत ल्याउँदै नेकपा एमालेका प्रेमबहादुर लामालाई पराजित गरिन् । वडाध्यक्षमा निर्वाचित भएपछि तामाङले वडामा महिला सशक्तीकरणमा जोड दिंदै काम गर्ने बताइन् ।

यता भुजेलले ४३३ मतका साथ नेकपा माओवादी केन्द्रका उम्मेदवार नेत्रबहादुर मगरलाई हराईन ।

दश पालिका रहेको तनहुँको मतगणना सकिएको छ । जिल्लाको मतपरिणाम आइसक्दा ८३ वडाध्यक्षमा पुरुष विजयी भएका छन् भने २ वटामा मात्रै महिला निर्वाचित भएका छन् । पालिका प्रमुख/अध्यक्षमा शुन्य नै छ, महिला नेतृत्व ।
गत २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको म्याग्दे गाउँपालिकामा महिला अध्यक्ष  निर्वाचित भएकी थिइन् । यसपटक पनि उनै मायादेवी राना निर्वाचनमा उम्मेदवार थिइन् तर यसपटक उनि सफल हुन् सकिनन् ।

उनि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार थिइन । उनलाई एमालेका पुरुष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले पराजित गरिदिए ।

जिल्लाको ७ पालिकामा यसपटक महिलाले उपप्रमुख/उपाध्यक्ष पाएपनि स्थानीय तह निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा सदस्यमा मात्रै सीमित भएको पाइएको छ । पहिले एक पालिका अध्यक्षसहित ९ पालिका उपप्रमुख/उपाध्यक्षमा महिला रहेको भएतापनि अहिले ७ पालिकाको उपप्रमुख/उपाध्यक्षमा मात्रै महिला विजयी भएका छन् ।

गठबन्धनका कारण गत निर्वाचनमा महिला नेतृत्व उपप्रमुख र उपाध्यक्ष पाएका नगरपालिका/गाउँपालिकाले समेत यसपटक महिला नेतृत्व गुमाउन परेको छ ।  संविधानमा पालिकाको नेतृत्वको दुई पदमा एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्थाको गठबन्धन र तालमेलका कारण कार्यान्वय हुन नसकेको हो ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकामा तालमेल कै कारण महिलाले उम्मेद्वारी समेत दिन पाएनन् । दुवै पालिकामा पुरुष विजयी भएका छन् ।
म्याग्दे गाउँपालिकामा भने नेपाली कांग्रेसले अध्यक्षमा महिला र उपाध्यक्षमा पुरुष उम्मेदवार उठाएको थियो । जहाँ महिलाले अध्यक्षमा विजय हात पार्न सकिनन् भने पुरुष उपाध्यक्ष उम्मेदवार विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box