July 3, 2022
तनहुँ । तनहुँका दश स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र छ गाउँपालिकाको प्रमुख पदमा पुरुष निर्वाचित हुँदा महिला नेतृत्व शून्य भएको हो ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा एउटा मात्र म्याग्दे गाउँपालिकामा महिला अध्यक्ष निर्वाचित भएको थियो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दे गाउँपालिकामा नेपाली कांग्रेसले नै पुन: अध्यक्ष पदमा मायादेवी रानालाई उम्मेदवार बनाएको थियो ।

यसपटक उनि  निर्वाचनमा पराजित भईन । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत ठुला दलले प्रमुख पदमा महिला उम्मेदवार नबनाउँदा र नेपाली कांग्रेसले एउटा पालिकामा बनाएको प्रमुख पदकी उम्मेदवार समेत पराजीत हुँदा तनहुँमा महिला सहभागिता शून्य हुन पुगेको हो ।

तनहुँमा ठूला दलले निर्वाचनमा तालमेल गर्दा महिलालाई भन्दा पुरुषलाई प्राथमिकतामा राखेर भागबण्डा लगाएका कारण स्थानीय तहको प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष भएर नेतृत्व गर्ने अवसर गुमेको महिला नेतृहरु बताउछन ।

गत २०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ दलले उम्मेदवार बनाउँदा नै महिलालाई वञ्चित गरेका कारण पनि महिला नेतृत्वमा पुग्ने अवसर खुम्चिएको छ ।

गत स्थानीय तह निर्वाचनमा एक जना महिला गाउँपालिका अध्यक्ष र ९ जना महिला नेतृ उपप्रमुख/उपाध्यक्षमा निर्वाचित हुँदै नेतृत्वदायी भूमिकामा पुगेका थिए तर यो पटक पालिका प्रमुखमा शुन्य नै भएको छ महिला नेतृत्व । उपप्रमुख/उपाध्यक्षमा पनि ७ जना महिलामा सीमित भएको छ ।

नेपाली कांग्रेसबाट ४, नेकपा एमालेबाट २ र नेकपा माओवादी केन्द्रबाट एक जना महिला उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् । बाँकी ३ जना भने पुरुष नै निर्वाचित भएका छन् । दुई जना नेकपा माओवादी केन्द्र र एक जना नेपाली कांग्रेसबाट उपप्रमुख/उपाध्यक्षमा विजयी भएका हुन् ।

पालिकाको उपप्रमुख–उपाध्यक्षमा भने सात महिला निर्वाचित भएका छन्। काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धन गरेका देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा पुरुष विजयी भएका छन् ।

घिरिङ, ऋषिङ,बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा क्रमशः राधादेवी अधिकारी, गिनुमाया थापा, पञ्चमाया गुरुङ र दुर्गा अर्याल निर्वाचित भएका छन्। यसैगरी भिमाद, भानु र व्यासनगरपालिकाको उपप्रमुखमा क्रमशः शारदा खनाल, उमा गोतामे, इन्दिरा दरैले विजय हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box