June 25, 2022

तनहुँ । जिल्ला समन्वय समिति तनहुँको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गर्ने भएका छन् । जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी र एक सदस्य एकीकृत समाजवादीले पाउने गरी गठबन्धनको तयारी रहेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

नौ सदस्यीय जिल्ला समन्वय समितिमा कांग्रेसले प्रमुखसहित ५, माओवादीले उपप्रमुखसहित ३ र एकीकृत समाजवादीलाई एक सदस्य पद बाँडफाँडको तयारी रहेको सचिव खनालले जानकारी दिए । प्रमुख र अन्य ४ सदस्यका लागी कांग्रेसले केहि दिनमा नै बैठक बसेर निर्णय गर्ने सचिव खनालले बताए ।

यस्तै माओवादीले पनि बैठक बसेर टुंग्याउने तयारी रहेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य ओमराज आले (मदन)ले जानकारी दिए । उनले भने ‘हाम्रो माग उपप्रमुख सहित ४ जनाको हो तर छलफल गरेर टुङ्गो लगाउछौं ।’ उनले अगाडी भने ‘पात्र को हुन्छ त्यो पार्टीको बैठकले निर्णय गर्छ । ‘

तनहुँमा कांग्रेसका १०, माओवादीका ४, एमालेका ६ जना मतदाता छन् । कांग्रेस र माओवादी मिलेर स्पष्ट बहुमत पुगेको छ ।

गत २०७४ मा भने नेपाली कांग्रेसले जिससमा एकल बहुमत हुँदा आफ्नै समिति मात्रै बनाएको थियो । तर यसपालि एक भोट कम हुँदा माओवादी संग गठबन्धन गर्नुपरेको हो, कांग्रेसलाई ।

नेपाली कांग्रेसमा यसै त आकांक्षी धेरै त्यहि माथि गठबन्धन गर्दा उपप्रमुख सहित सदस्य माओवादी र एकीकृत समाजवादीलाई दिनुपर्दा पार्टी भित्रका आकांक्षीलाई चित्त बुझाउन नसक्ने अवस्था देखिएको छ । आकांक्षी धेरै तर पद कम हुँदा कांग्रेसमा समस्या देखिएको छ ।

कांग्रेसबाट जिसस प्रमुखमा निवर्तमान जिसस प्रमुख शान्तिरमण वाग्लेले दोहिरिने इक्षा व्यक्त गरेका छन् ।* उनी जस्तै अन्य धेरै सदस्यमा विजयी कांग्रेसका नेता जिससमा आकांक्षी रहेका छन् ।

यता माओवादी केन्द्रमा भने उपप्रमुख र सदस्य कसलाई बनाउने भन्ने अन्यौल देखिएको छ । माओवादी स्रोतका अनुसार उक्त उक्त पार्टीमा उम्मेदवार भेट्नै मुस्किल परेको छ । स्थानीय तह निर्वाचनमा जिससमा जानेगरी उम्मेदवार नबनाउदा यतिबेला माओवादीमा उम्मेदवार भेट्न मुस्किल देखिएको छ ।

यता स्थानीय तहमा गठबन्धन गरेकाले नेकपा एकीकृत समाजवादीलाई समेत एक सदस्य दिएर जिससमा समावेश गरेको कांग्रेस सचिव खनालको भनाई छ ।
उनका अनुसार गठबन्धनको बैठक यहि साता भित्र बसेर आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्म निरन्तरता दिने गरी जाने तयारी रहेको छ ।

उनले भने ‘यहीं हप्ता भित्र हामि बैठक बस्ने तयारीमा छौं, गठबन्धन आगामी प्रदेश र प्रतिनिधि सभा चुनाव सम्म लैजाने तयारीमा छौं ।’

*सच्याइएको 

-सम्पादक

Leave a Reply

Your email address will not be published.

Holler Box