June 25, 2022

तनहुँ । तनहुँमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्र गत जेठ १ गतेदेखि सुरु भएपनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइ नपुग्दा पठनपाठनमा समस्या भएको छ ।

शैक्षिक सत्र सुरु भएको एक महिना भईसक्दा पनि अझै जिल्लाका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

जिल्लाको व्यास-६ स्थित इन्दु माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत सोनासि गुरुङ विद्यालय जान थालेको एक महिना भईसकेको छ । तर हालसम्म नयाँ पाठ्यक्रम अनुसारको सामाजिक किताब नपाउँदा अध्ययनमा समस्या भएको उनले गुनासो गरिन् ।

उनि जस्ता जिल्लाका हजारौँ विद्यार्थीको दुःखेसो उस्तै छ । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावित पश्चात सुरु हुन लागेको नयाँ शैक्षिकसत्रको पढाइ पनि पाठ्यपुस्तक अभावले प्रभावित भएको छ । विद्यार्थी चिन्तित छन् । समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर भविष्यमाथि खेलबाड गरेको विद्यार्थीको आरोप छ ।

पाठ्यपुस्तक अभावले शिक्षक शिक्षिकालाई समेत पिरोलेको छ । जिल्लाको व्यास नगरपालिका–६ स्थित इन्दु माध्यमिक विद्यालयकी शिक्षिका शुष्मा श्रेष्ठले भनिन, “पठनपाठन सुरु भएको यतिका समय हुँदासमेत किताब उपलब्ध नहुँदा समस्या भएको छ ।”
उनले थपिन ‘मैले पढाउने कक्षा ६ को गणित विषयको किताब अझै आइपुहेको छैन, अहिलेसम्म पुरानै कोर्ष अनुसार पढाउनु परेको छ ।’

“केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका छौँ”, भानु नगरपालिका–५ मा रहेको सरस्वति सदन माध्यमिक विद्यालयका शिक्षक रविन्द्र खातीले भने,“पाठ्यपुस्तक फेरिएका कक्षामा पठनपाठन गराउन कठिन भएको छ ।”

किताबी कुरा सिकाउन नपाएको उल्लेख गर्दै उनले व्यावहारिक कुरा विद्यार्थीलाई सिकाइने गरेको बताए । कक्षा ४, ७ र ९ को कोर्सनै परिवर्तन भएको छ । ती कक्षाका विद्यार्थीलाई कसरी पढाउने भन्ने पिरलो बढी रहेको उनले बताए ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक पुगेका छैनन् । पाठ्यपुस्तक नपुगेका केही विद्यालयका शिक्षकले इन्टरनेटबाट पाठ्यपुस्तक डाउनलोड गरी पढाउन समेत थालेका छन् । यसरी पढाउने शिक्षकको सङ्ख्या भने थोरै छ ।

कक्षा कोठामा यसरी पढाएका विषय वस्तुलाई विद्यार्थीले घरमा पाठ्यपुस्तकै अभावमा दोहो¥याएर पढ्न पाउने गरेका छैनन् । जसबाट विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध हुन थालेको छ ।

“शिक्षकले विद्यालयमा मौखिक रुपमा पढाएका विषय घर आउँदासम्म बिर्सीसकेका हुन्छौँ”, कक्षा ६ मा पढदै आएका विद्यार्थी रोमन श्रेष्ठले भने, “पाठ्यपुस्तक भए पढन सजिलो हुन्थ्यो पाउन सकेका छैनौँं । कहिले पाइने हो पत्तो छैन ।”

स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको पुस्तक पसल सञ्चालक बताउँछन् । शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख बसन्तराज पौडेलका अनुसार कोर्ष फेरिएका कक्षामा विद्यालयले पुरानै किताबबाट पठनपाठन गराउँदै आएका छन् ।

जिल्लामा सामुदायिक तर्फ ४३२ र निजी तर्फ ११९ विद्यालय छन् । सामुदायिक विद्यालयमा झण्डै ६४ हजार र निजीतर्फ ३२ हजार विद्यार्थी अध्ययनरत रहेको एकाईका प्रमुख पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

Holler Box