July 3, 2022

तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य असार १ गते बुधबारदेखि सुरु गरेको छ ।

जिल्लामा बुधबारबाट मतदाता नामावली संकलन कार्य सुरु भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

‘अबको केहि महिनामा नै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना छ, त्यो निर्वाचनलाई लक्षित गरी आजदेखि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन सुरु गरेका हौँ,’ प्रमुख ढकालले भने ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन कहिले हुन्छ भन्ने टुंगो लागिसकेको छैन । यद्यपि सत्ता गठबन्धनको एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बर्दियामा आयोजित एक कार्यक्रममा आगामी मंसिरमा चुनाव हुने बताएका थिए ।

स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन स्थगित गरिएको थियो । स्थगित भएको उक्त काम बुधबारबाट पुनः सुरु गर्न लागिएको हो ।

पहिलो दिन बुधबार १ सय २६ जनाले मतदाता नामावली दर्ता गराएको प्रमुख ढकालए जानकारी दिए । जिल्ला प्रशासन कार्यालय तनहुँमा ७४ जना र जिल्ला निर्वाचन कार्यालय तनहुँमा ५२ जनाले नाम दर्ता गराएका हुन ।

विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने छन् । तर उनीहरुले मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहींबाटै गर्नुपर्ने छ ।

आफ्नो नाम, थर, लिंग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटी भएको भए यही बेला त्यसलाई सच्याउन सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

आयोगले १६ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य मान्दै आएको छ भने मतदानका लागि तोकिएको मितिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box