आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले विद्यालयमा नर्स कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट तलब खुवाउने गरी पहिलो पटक विद्यालयमा नर्स कार्यक्रम सुरुवात गरेको हो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयमा यो कार्यक्रम सुरुवात भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई नर्स हस्तान्तरण गरेको छ ।

विद्यालयमा बालबालिका नियमित उपस्थित गराउन र विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन नर्स कार्यक्रम सुरुवात गरिएको अध्यक्ष चुमानले बताए ।

सबैभन्दा बढी विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा नर्स कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिए। रामशाह माविमा करिब एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन् । “गाउँपालिकासँग प्रत्यक्ष सम्पर्कमा रहेर नर्सले विद्यालयमा सेवा दिनुहुनेछ,” उपाध्यायले भने ।

विद्यालयमा नर्स भएपछि विद्यार्थीको स्वास्थ्यको ख्याल गर्नका लागि आलोपालो मिलाएर रक्तचाप नाप्ने, ज्वरो नाप्ने तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, स्वास्थ्य सचेतना दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्माले जानकारी दिए ।

बालबालिका घर बाहेक बढी समय विद्यालयमा रहने भएकाले स्वास्थ्य समस्या पर्दा उपचार नहँुदा समस्या पर्न सक्ने भएकाले यो सुविधा प्रभावकारी हुने विश्वास गरिएको छ । नर्सले किशोर–किशोरीलाई प्रजनन्, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा समेत परामर्श दिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *