निर्वाचनका लागि तनहुँमा १ हजार ५२५ मत पेटिका

Byकिरण श्रेष्ठ

२७ कार्तिक २०७९, आईतवार १८:३४ २७ कार्तिक २०७९, आईतवार १८:३४ २७ कार्तिक २०७९, आईतवार १८:३४

तनहुँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँले मत पेटिका तयारी अवस्थामा राखेको छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि गत स्थानीय तहको निर्वाचनमा प्रयोग भएका र नयाँ गरी १ हजार ५२५ थान मत पेटिका तयारी अवस्थामा राखिएको हो ।

जिल्लाको १४२ मतदान स्थलका ३०५ मतदान केन्द्रमा पाँच वटाका दरले र दुई वटा अस्थायी मतदान केन्द्रमा एक/एक वटाका दरले मत पेटिका प्रयोग हुने जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकालले बताए ।

प्रत्यक्ष र समानुपातिक मतका लागि प्रति मतदान केन्द्र चार/चार वटा मत पेटिका प्रयोग हुने भएपनि एक/एक थान मत पेटिका जगेडाका रुपमा मतदान केन्द्रमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

‘हामीसँग पुरानो मतपेटिका छ । टुटफुट भएका र चर्किएको मत पेटिकाको सट्टा नयाँ मत पेटिका प्रयोग हुन्छ,’ जिल्ला निर्वाचन अधिकारी ढकालले भने, ‘एक मतदान केन्द्र बराबर पाँच वटा मत पेटिका पठाउने छौं । एक वटा चैं जगेडाका लागि पठाउन लागिएको हो ।’

अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कैदीले मताधिकार प्रयोग गर्नेछन् । कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैदीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिने छ ।

कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र भोट हाल्न पाउने जिल्ला निर्वाचन अधिकारी ढकालले बताए । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइसकेको कार्यालयले जनाएको छ ।

तनहुँका दुई वटा निर्वाचन क्षेत्रमा गरेर १४२ वटा मतदानस्थल र ३०५ वटा मतदान केन्द्र रहेको छ । गत स्थानीय तह चुनावमा १३६ मतदान स्थलमा २९७ केन्द्र थिए ।

तनहुँमा रहेका मध्ये ६ वटा मतदान स्थल अति संवेदनशील रहेका छन् ।

सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान स्थलको वर्गीकरण गर्ने क्रममा तनहुँमा रहेका १४२ वटा मतदान स्थल मध्ये ६ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्ला सुरक्षा समितिका अनुसार तनहुँमा ६ वटा मतदान स्थललाई अति संवेदनशील, ५२ वटालाई संवेदनशील र ८४ वटालाई सामान्यमा वर्गीकरण गरिएको छ ।

तनहुँमा मतदाता

आसन्न चुनावका लागि १ लाख १९ हजार ६५० जना पुरुष र १ लाख २८ हजार ८४५ जना महिला गरी कूल २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् । गत स्थानीय चुनावमा २ लाख ४४ हजार ३४० मतदाता रहेको थियो । स्थानीय तह चुनावपछि थपिएकालाई जोड्दा, बसाइसराइँ गरेका र दिवङ्गत भएकाको नामावली अद्यावधिक गरेर मतदाता सङ्ख्या कायम गरिएको हो । स्थानीय तहको चुनावपछि ४ हजार १५५ मतदाता थपिएका हुन् ।

तनहुँ प्रतिनिधिसभा क्षेत्र नं १ मा कुल ४२ वटा वडा, ६९ मतदान स्थल, १५२ मतदान केन्द्र र १ लाख २३ हजार ४९० मतदाता रहेका छन् । जसमा प्रदेश सभा क्षेत्र नं १ मा २२ वटा वडा, ३६ मतदान स्थल, ८२ मतदान केन्द्र र ६७ हजार १४४ मतदाता छन् भने प्रदेश सभा क्षेत्र नं २ मा २० वटा वडा, ३३ मतदान स्थल, ७० मतदान केन्द्र र ५६ हजार ३४६ मतदाता रहेका छन् ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा कुल ४३ वटा वडा, ७३ मतदान स्थल, १५३ मतदान केन्द्र र १ लाख २५ हजार ५ जना मतदाता रहेका छन् । जसमा प्रदेश सभा क्षेत्र नं १ मा २१ वटा वडा, ३७ मतदान स्थल, ८० मतदान केन्द्र र ६७ हजार ३२ मतदाता छन् भने प्रदेश सभा क्षेत्र नं २ मा २२ वटा वडा, ३६ मतदान स्थल, ७३ मतदान केन्द्र र ५७ हजार ९७३ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *