तनहुँ । गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा तनहुँले ६ जना सांसद पाएको छ । दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा गरी कुल ६ सिटका लागी तनहुँमा भएको निर्वाचनबाट लोतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले २ प्रतिनिधि सभा र २ प्रदेश सभा सदस्य पाएको छ ।
यस्तै गठबन्धनकै नेकपा माओवादी केन्द्रले पाएको २ प्रदेश मध्य एउटा मात्रै जितेको छ । अर्को एउटामा एमालेले माओवादी उम्मेदवारलाई हराउदै गठबन्धन विरुद्द १ सिट प्रदेशसभामा जित्न एमाले सफल भएको छ ।
गत २०७४ को निर्वाचनमा एमाले-माओवादीको बाम गठबन्धनले तनहुँका ६ वटै सिट जितेर ‘क्लिन स्विप’ गरेको थियो । र, त्यो बेला कांग्रेस शुन्य भएको थियो तर यसपाली गठबन्धनका कारण नेपाली कांग्रेसले सहज जित निकालेको छ ।
अझै तनहुँ-२ मा त २८ वर्षपछी कम्युनिष्ट गढ तोड्न कांग्रेस सफल भएको छ ।
कहाँ कसले जिते ?
तनहुँ क्षेत्र नम्बर १
तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले २५ हजार ३१८ मत पाएर जित हात पारेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजर ९४३ मत पाए ।
नेता पौडेल ५ हजर ३७५ मतान्तरले विजयी भएका हुन् । यस्तै कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७८ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२, राप्रपाका विनोद घर्तीले २,४८३ मत पाएका छन् ।
यो क्षेत्रमा १ लाख २३ हजार ४९० जना मतदाता रहेकोमा ६६ हजार ५८४ मत खसेको थियो । जसमध्य ६२ हजार ५८४ मत सदर भएको छ भने ४ हजार मत बदर भएको छ ।
प्रदेश सभा तर्फ
तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ मा नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ ले ४ हजार २१८ बढी मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
बिहिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार श्रेष्ठले १५ हजार ३६३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का रामबहादुर गुरुङले ११ हजार १४५ मत प्राप्त गरेका छन् । लायन्स ३२५ वि १ का पूर्व गर्भनर रहेका श्रेष्ठ नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।
यस्तै, तनहुँ १ ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गरेका हुन् ।
चुमानले १३ हजार २ सय ७१ मत ल्याउँदा एमाले गुरुङले १० हजार ४ सय ९८ मत ल्याए । चुमानले गुरुङलाई २ हजार ७ सय ७३ मतान्तरले पराजित गरेका हुन् ।
चुमान माओवादीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार पनि हुन् । चुमान यसअघि गण्डकी प्रदेश सरकारमा आन्तारिक मामिला मन्त्री भईसकेका छन्
तनहुँ क्षेत्र नम्बर २
तनहुँ क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार किरण गुरूङलाई पराजित गर्दै लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कांग्रेसका केन्द्रीय सस्दय शंकर भण्डारी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार भण्डारीले ३० हजार ६ सय ४ मत पाँउदा गुरूङले २५ हजार १ सय ३० मत पाएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार तीन सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार चार सय २१ मत प्राप्त गरेका छन् ।
खसेको कुल मत ६८ हजार आठ सय १७ रहेको छ भने तीन हजार पाँच सय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेको गढमा २८ वर्षपछि कांग्रेसका उम्मेदवार शंकर भण्डारी निर्वाचित भएका हुन् । भण्डारी गत २०७४ को निर्वाचनमा यहीँ क्षेत्रमा एमालेका केदार सिग्देल संग पराजित भएका थिए ।
प्रदेश तर्फ
तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश १ मा नेकपा एमालेका श्यामराजा महत विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतपरिणामअनुसार सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेलाई १ हजार ७६६ मतान्तरले पराजित गर्दै महत निर्वाचित भएका हुन् ।
महतले १५ हजार ६६५ मत प्राप्त गरेका छन् भने न्यौपानेले १३ हजार ८९९ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा यस क्षेत्रमा वामगठबन्धनबाट माओवादी केन्द्रकी आशा कोइराला विजयी भएकी थिइन् ।
यस्तै राप्रपा रेशमराज अधिकारीले ४ हजार २२० मत पाए भने नेकपा एकीकृत समाजवादीले ५९१, जनमुक्ति पार्टीका नेत्रबहादुर थापाले ५९०, मंगोल नेशनल अर्गनाइजेशनका सुमन थापा मगरले ७१६, मौलिक जरोलिो पार्टीका टोलराज वाग्लेले ३९०, जनसमाजवादी पार्टी नेपालका रामबहादुर वि.कले १२४ मत प्राप्त गरेका छन् । कुल मतबाट १६३० मत बदर भएको छ ।
यस्तै, तनहुँ २(२) मा सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जितप्रकाश आले निर्वाचित भएका छन् । आलेले नेकपा एमालेका उम्मेदवार केदार सिग्देललाई ६ सय ४० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
आलेले १३ हजार ८६० मत र सिग्देलले १३ हजार २२० मत प्राप्त गरेका छन् । प्रदेशसभामा निर्वाचित आले कांग्रेसका जिल्ला सभापति हुन् । सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । वि.सं २०७४ सालको निर्वाचनमा सिग्देलले कांग्रेसका उम्मेदवार शंकर भण्डारीलाई ३ हजार २७९ मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।
उक्त निर्वाचनमा सिग्देलले ३२ हजार ९२४ मत प्राप्त गरेका थिए भने शंकर भण्डारीले २९ हजार ६४५ मत प्राप्त गरेका थिए ।
अन्तिम मत परिणाम अनुसार राप्रपाका श्यामकुमारी राइले ५६५, मंगोल नेशनल अर्गनाइजेशनका नमबहादुर रानाले ५२०, राष्ट्रिय जनमुक्ति पार्टीका धनबहादुर गुरुङले ३८४ मत पाएका छन् । उम्मेदवारी निष्क्रिय पारेको एकिकृत समाजवादीलाई ३६८ मत खसेको थियो भने ९८१ मत बदर भएको छ ।